‘मनोरञ्जन क्षेत्र मानव बेचविखनको उद्गमस्थल’

समाधान संवाददाता २०८२ साउन १८ गते १६:५१

पोखरा ।
अन्तर्राष्ट्रिय मानव वेचबिखन बिरुद्धको दिवसको सन्दर्भमा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र शक्ति समूह काठमाडौंले संयुक्त रुपमा मनोरञ्चन र सेवा सत्कार व्यवसायमा कार्यरत श्रमिकमा परेको प्रभाव र असरबारे सरोकारवाला निकायको भूमिका विषयक कार्यशाला गोष्ठी गरेका छन् ।

Advertisement


गोष्ठीमा मन्त्रालयका सामाजिक महाशाखाका प्रमुख मुना अधिकारीले मानव बेचबिखन रोकथाम नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारका नीतिगत, संरचनागत र कार्यक्रमगत प्रयासबारे सहजीकरण गरिन् । कार्यक्रममा शक्ति समूह गण्डकी प्रदेश संयोजक सरिता पौडेलले समूहले लक्षित समूहको जीविकोपार्जन, मानव बेचबिखन रोकथाम, वकालत, क्षमता अभिवृद्धि र संरक्षण लगायतका कार्यक्षेत्रमा काम गरेको बताइन् ।


गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानव बेच बिखन तथा ओसारपसार शक्तिशाली समूहले गर्ने संगठित अपराध भएकाले त्यसलाई रोकथाम गर्न सरोकारवालाको सामूहिक र सशक्त अभियान आवश्यक पर्ने बताए । उनले मानव बेचबिखन बिरुद्धमा सचेतनामूलक कार्यक्रम गरेको शक्ति समूहले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको श्रम अधिकार सुनिश्चित गर्न काम गरेको उल्लेख गरे । सरकारले श्रमिकको सामाजिक सुरक्षामा ध्यान दिने उल्लेख गर्दै उनले श्रम ऐन कार्यान्वयनमा ध्यान दिने जानकारी दिए ।

Advertisement


शक्ति समूहका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक चरिमाया तामाङले मनोरञ्जन क्षेत्र मानव बेचबिखनको उद्गमस्थल बनेको दाबी गरिन् । ‘डान्सबार, दोहोरी साँझ, स्पा लगायतका मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा बालबालिका मानव बेच बिखनको दृष्टिले उच्च जोखिममा पर्ने समूहमा पर्छन्,’ उनले भनिन्, ‘बेचबिखनको जोखिममा पर्ने समूहलाई जोगाउन सरोकारवाला निकायको सामूहिक पहल आवश्यक छ ।’


उनले समूहले महिला तथा बालबालिकामाथिको हिंसा, मानव बेचबिखन र जोखिम न्यूनीकरणमा केन्द्रित रही सात जिल्लामा काम गरिरहेको जानकारी दिइन् । समूहले २०५४ सालदेखि जोखिममा परेका किशोरी तथा महिलाको उद्वार, संरक्षण, र पुनस्र्थापनामा उल्लेखनीय कार्य गर्दै आएको उल्लेख गर्दै उनले २०२३/२४ को अवधिमा मात्रै १ सय १० जना सेवाग्राहीलाई सेवा प्रदान गरेको बताइन् ।

Advertisement


कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मनोरञ्जन क्षेत्रका व्यवसायको अनुगमन र प्रभावितको पुनस्र्थापनामा स्थानीय प्रशासनले ध्यान दिएको जानकारी दिइन् । उनले रात्रीकालीन व्यवसायको सञ्चालन मापदण्ड बनाएर काम गरेको उल्लेख गरिन् ।


मन्त्रालयका सामाजिक महाशाखाका प्रमुख अधिकारीले दलालले प्रत्यक्ष भेटघाट नगरी सामाजिक सञ्जाल, इमो, विच्याट जस्ता आधुनिक प्रविधिको प्रयोग गरी बेचबिखन हुने गरेको सुनाइन् । उनले गरिबी, रोजगारीको अभावको कारण धेरै महिलाले जोखिमपूर्ण काम रोजेको जानकारी दिइन् ।


शक्ति समूह गण्डकी संयोजक पौडेलले मनोरञ्जन तथा अनौपचारिक क्षेत्रका महिला र किशोरीमाथि हुने श्रम तथा यौन शोषण अन्त्यका लागि सम्बन्धित ऐन तथा सयन्त्रको निर्माण गरी व्यवस्थित र मर्यादित बनाउन आग्रह गरिन् । उनले सवोच्च अदालतको आदेशमा श्रमजीवी महिलाप्रति डान्स रेष्टुरेन्ट, बार जस्ता कार्यस्थलमा हुने यौनजन्य उत्पीडन नियन्त्रणका लागि २०६५ सालमा निर्देशिका जारी गरिएको जानकारी दिइन् ।


कार्यक्रममा कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु देवका पहारी र श्यामराजा महत, जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, मानव अधिकार आयोग गण्डकीका प्रमुख नितु गर्तौला, मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्साल, उच्च अदालत पोखराका उपरजिष्ट्रार नारायण पौडेल, पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, प्रहरी निरीक्षक सरला ढकाल, गैसस महासंघ नेपाल गण्डकी अध्यक्ष पदमराज पहारी, मन्त्रालयका शाखा अधिकृत देवी शर्मा, शक्ति समूह काठमाडौंकी सचिव मुना तामाङ, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण बराल, राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले मानव बेच बिखन रोक्नका लागि अपनाउनुपर्ने रणनीतिबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया