कविशिरोमणिको आँगनमा साहित्यानुरागी

समाधान संवाददाता
पोखरा
म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरूँ
म बाँचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु
भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी ।
बिहानीको चिसो छेल्दै करिब २ दर्जन साहित्यानुरागी कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोमा पुग्दा मन्त्रमुग्ध भए । कविशिरोमणिका श्लोक वक्ता लेखक अमर न्यौपानेले थप कसी लगाउँदै भने, ‘मलाई कविशिरोमणिका कविता मन्त्र जस्तै लाग्छन् । उनको नाम नजान्दै उनकै कविता सुनेर हुर्किए ।’
पोखरामा अन्तिम दिनको पहिलो सेसनमा नेपाल साहित्य महोत्सवले कविशिरोमणिको जन्मथलो पोखरा २७ स्थित अर्चलेमा कार्यक्रम सञ्चालन गर्ने चाँजो मिलायो ।
महोत्सव स्थल बाराहीघाट लेकसाइडमा कविशिरोमणि कक्षसमेत स्थापना छ । जहाँ दैनिक आधा दर्जनभन्दा बढी सेसन जारी रहन्छन् । तर साहित्यानुरागीलाई प्रत्यक्ष अवलोकनका लागि महोत्सव आयोजक संस्था बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीले कविशिरोमणिकै जन्मथलोमा ल्याई पुर्यायो ।
लेखक न्यौपानेले पनि कविशिरोमणिको जन्मथलोमा आउन पाउनु आफूसहित साहित्यप्रेमीको तीर्थयात्रा भएको सुनाए । उनी यतिमै रोकिएनन्, ‘हाम्रो लागि मन्दिर, मस्जिद, गुम्बा र चर्च सबैथोक हो ।’
कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरुको संग्रह प्रकाशनमा जिम्मेवारी पाएका संग्रहकर्ता सनदकुमार वस्तीले कविको आशीर्वादमा साहित्यको जग बसेको बताए ।
कविशिरोमणिका रचनावली संग्रहमा सुरक्षित गर्ने काम नेपाली साहित्यमै पहिलो पटकको सुन्दर अभ्यास भएको उनले सुनाए । काव्य, कविता, नाटक, स्तुति काव्य लगायत कविशिरोमणिका दर्जनभन्दा बढी कृतिको सुरक्षण गर्ने जिम्मेवारी पाउनु अहोभाग्य रहेको उनले बताए । रचनावली संग्रह ५ खण्डमा विभाजन गरी प्रकाशन गरिएको छ । वस्तीले भने, ‘हामीले पश्चिमा मुलुकको दर्शनलाई मान्ने चलन छ । कविशिरोमणिका रचनालाई बुझ्ने प्रयास गर्यौँ भने महान् दर्शन हामीले त्यहीँ भेटाउँछौं ।’
रचनावलीको प्रकाशनपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दा प्रसन्न भएको वस्तीले उल्लेख गर्दै घिमिरेको स्याबास् आफ्ना लागि ठूलो पुरस्कार भएको सुनाए । कविशिरोमणिको जन्मथलो र संग्रहालय अवलोकन गरी उनीहरु फर्किएका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया