लागुऔषध मुद्दाका फरार २२ वर्षपछि पक्राउ

समाधान संवाददाता २०८२ साउन १९ गते १७:०५

पोखरा ।
कास्की जिल्ला अदालतले लागुऔषध मुद्दामा दोषी ठहर्‍याएपछि २२ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका नम्बर ४ का ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार नियन्त्रणमा लिइएको हो । उनलाई अदालतले विसं २०५९ वैशाख २३ गते १० महिना १८ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

Advertisement


पक्राउ परेका पौडेलमाथि थप कानुनी कारबाही अघि बढाइएको जानकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले दिएका छन् । यसैगरी, चोरीको झुटो उजुरी दिएको आरोपमा प्रहरीले एक दम्पतीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आँधीखोला गाउँपालिकाकै हिले निवासी ४१ वर्षीया चन्द्रकुमारी गुरुङ र ३८ वर्षीय धनराज गुरुङ रहेका छन् ।


उनीहरुले आँधीखोला गाउँपालिका नम्बर १ स्थित आफ्नो घरबाट साढे सात तोला सुनका गरगहना र चार हजार रुपैयाँ नगद चोरी भएको भनी प्रहरीमा निवेदन दिएका थिए । प्रहरी अनुसन्धानका क्रममा उक्त सुन र नगद उनीहरुले नै मिलोमतोमा लुकाएर राखेको अवस्थामा फेला परेको थियो । ती दुवै जनामाथि पनि आवश्यक कानुनी प्रक्रिया प्रारम्भ गरिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया