पोखरामा चलचित्र ’मोहर’को प्रचार

समाधान संवाददाता २०८२ साउन २० गते १६:०७

पोखरा ।
साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा ‘मोहर’को प्रचारका लागि आयोजित ‘मोहर साँझ’ कार्यक्रम पोखराको पृथ्वीचोकमा भएको छ ।


कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो । साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति देखियो । पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो ।


सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक स्वागत गरे । स्टेजमा नै केक काटेर उनको स्वागत गरिएको थियो । जसले कलाकार र फिल्म दुवैप्रति पोखरेली दर्शकको माया झल्किएको छ ।

Advertisement


सिनेमा ‘मोहर’को कथावस्तु, प्रस्तुति र कलाकारहरूको समर्पणले नेपाली सिनेमामा नयाँ स्वाद दिने विश्वास गरिएको छ । प्रचारप्रसारको यो शैलीले दर्शक र कलाकारबीचको सम्बन्धलाई अझ बलियो बनाएको देखिन्छ ।


चलचित्र ‘मोहर’को कथा पश्चिम नेपालका ग्रामीण परिवेश, सामाजिक द्वन्द्व, प्रेम, र सांस्कृतिक अस्मितालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा सांगितिक भावनालाई जीवनकथासँग जोड्ने प्रयास गरेको अभिनेता पल शाहले जानकारी गराए ।

Advertisement


सिनेमामा पल शाह प्रमुख भूमिकामा छन् भने पारिवारिक सम्बन्ध, प्रेममा विश्वासघात, अनि आत्मसम्मान जस्ता गम्भीर विषयहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । यसले विशेष गरी युवापुस्ता र ग्रामीण परिवेशका दर्शकहरूलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।


पोखरामा आयोजित ‘मोहर साँझ’मा पल शाहले दर्शकहरूलाई धन्यवाद दिँदै ‘मोहर’ आफ्नो करियरको विशेष सिनेमामध्ये एक भएको उल्लेख गरे । चलचित्रको विषयवस्तुसँग आफू निकै नजिक भएको र सिनेमाको कथाले दर्शकको मन छुने विश्वास उनको छ ।


गायक थानेश्वर गौतमले ‘मोहर’को गीत दर्शकलाई सुनाए । सिनेमा लोक शैली र जीवन्तताका विषयमा प्रकाश पार्दै ‘मोहर’मा समावेश अन्य गीतहरूसमेत समकालीन लोकभावनामा आधारित रहेको जानकारी उनले गराए ।


सांगितिक, कथात्मक र दृश्यात्मक दृष्टिले ‘मोहर’ एक अलग शैलीको सिनेमाका रुपमा चिनिने आँकलन गरिएको छ ।

लोकसंस्कृतिमा आधारित समसामयिक कथावस्तु, लोकप्रिय कलाकारहरूको सहभागिता र संगीतको गहिरो प्रभावले गर्दा चलचित्रले राम्रो स्थान बनाउने विश्वास समेत गरिएको छ ।

ओम प्रतिकको कथा र निर्देशन रहेको ‘मोहर’मा पल शाहसँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी लगायतका कलाकारको अभिनय छ । फिल्ममेकर प्रालीको प्रस्तुतिमा निर्माण भएको उक्त सिनेमाका निर्माता चुम्बनजंग शाही हुन् ।

तपाईको प्रतिक्रिया