बाटुलेचौरमा तीज मेला हुने

समाधान संवाददाता २०८२ साउन २१ गते १६:५५

पोखरा ।
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला हुने भएको छ । वडा कार्यालय, पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा ऐतिहासिक बाटुलेचौर तीज मेला गर्न लागिएको वडा सदस्य राजकुमारी बानियाँले जानकारी दिइन् ।

परापूर्वकालदेखि बाटुलेचौरमा हुँदै आएको मेलालाई निरन्तरता दिन र पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई जोगाउन पनि २ दिनसम्म मेला सञ्चालन गर्न लागिएको बानियाँले बताइन् । मेला सञ्चालनका लागि भएको भेलाले वडा सदस्य बानियाँ संयोजक र मञ्जु नेपाली सहसंयोजक रहेको मूल समिति र विभिन्न ८ वटा उपसमिति गठन गरेको छ ।


आर्थिक व्यवस्थापनमा अनिल बस्नेत, प्रचार प्रसार उपसमितिमा मोहन थापा, स्वास्थ्यमा दुर्गा केसी थापा, लोक नृत्य व्यवस्थापनमा रामबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा गुरुदत्त भट्टराई, महिला दौडमा नन्दा गुरुङ, खाजा व्यवस्थापनमा कमला तिमिल्सिना र तीज गीत तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन सचिवालयले गर्ने गरी संयोजक तोकिएको बताइएको छ ।

Advertisement

मेलाको पहिलो दिन भदौ ९ गते बिहान मैदानदेखि महेन्द्र गुफासम्म प्रभातफेरी र महिला दौड, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, १० गते मेलाको मुख्य आकर्षणको रूपमा समूहगत तीज गीत प्रस्तुति एवं सांस्कृतिक कार्यक्रम गरिने प्रचार प्रसार संयोजक मोहन थापाले जानकारी दिए ।


भेलामा बोल्दै वडा सदस्य राजकुमारी बानियाँले तीज मेलालाई मौलिक र ऐतिहासिक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै, मेला बाटुलेचौरको परम्परासँग जोडिएको बताइन् । संस्कृतिकर्मी रामबहादुर बानियाँले तीज पर्व दुःख, सुख बिसाउने चौतारी भएको स्पष्ट पार्दै, यसको मौलिक र सांस्कृतिक पक्षलाई जोगाउनु पर्नेमा जोड दिए ।

Advertisement


विभिन्न उपसमिति गठनसँगै मूल समितिले मेलाको तयारी सुरु गरेको जनाएको छ । वडा कार्यालय संरक्षक रहेको सो मेला अघिल्लो वर्ष पनि नागरिक स्तरबाटै भएको थियो । शाह वंशको राजा कुलमण्डन शाहको पालादेखि नै बाटुलेचौरमा लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलाम लगायतका क्षेत्रका महिला जम्मा भएर तीज गीत गाउने प्रचलन रहेको जानकारहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया