३ दशकदेखि सालिन्दा नयाँ तीजगीत

पोखरा ।
हरितालिका तीज नेपाली महिलाको मौलिक, धार्मिक र हार्दिक पर्व हो । अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने यो पर्वमा संगिनी गीत र तीजगीत गाइन्छन् । पुराना गाथा, आफ्नै दुःखका कथा र जीवनको संघर्ष बोल्ने यी गीतमा नातिनीदेखि हजुरआमा पुस्तासम्म सँगै गाउने, नाच्ने गर्छन् ।
अचेल घरमा बा, दाजुभाइले पकाएर ख्वाउने दर होटलको भोजमा रुपान्तर हुँदा तीजगीत पनि हलुका लोकगीत र रत्यौलीगीत जस्ता बन्न थालेका छन् । यो वर्षको तीज भदौ १० गते परेको छ । तीज आउन ३ हप्ताभन्दा बढी बाँकी हुँदै संगीतको बजार र सामाजिक सञ्जाललाई तीजले छोपिसकेको छ । हरेक दिन नयाँ गीत ‘तीजगीत’ भन्दै सार्वजनिक भइरहेका छन् । तीमध्ये धेरैजसोले तीजको मर्मलाई बोकेका छैनन् ।
साढे ३ दशकदेखि सालिन्दा मौलिक तीजगीत दर्शक/स्रोतमाझ ल्याउने हरिदेवी कोइराला यसपालि चार वटा तीजगीत ल्याउने तयारीमा छिन् । उनका २ गीत सार्वजनिक भइसकेका छन् भने २ चाँडै आउँदै छन् । ‘उठौं जागेर’ र ‘बिहे गरी ल्याऊ राम’ बजारमा आइसकेका छन् । ‘कुराउनीको प्यारुङ्गो’ र ‘हान्छ ढुंगाले’ यहीँ साता सार्वजनिक हुँदै छन् ।
‘उठौं जागेर’मा महिला सशक्तीकरणका लागि आह्वान गरिएको छ भने ‘बिहे गरी ल्याऊ राम’ पौराणिक लोकगाथा हो । सम्भवतः रामबारे पौराणिक लोकगाथामा आधारिकत पहिलो तीजगीत नै यही हो । ‘कुराउनीको पेरुङ्गो’मा मादीखोलाले घरबारविहीन बनाएकी चेलीको पीडा छ भने ‘हान्छ ढुंगाले’मा पारिवारिक सहमतिबिना लगनगाँठो कस्नेहरुको अवस्था चित्रित छ ।
हरेक वर्ष मौलिक तीजगीत बजारमा ल्याउने हरिदेवीका यसपालि ४ गीत दर्शकले हेर्न, सुन्न पाउनेछन् ।
हरिदेवी रचना, लय र स्वरको त्रिवेणी हुन् । उनले गाएका सबैजसो गीतमा शब्द र लयसमेत आफैंले दिएकी छन् । २०४६ सालमा पहिलोपटक तीजगीतको गीति क्यासेट ‘हरिदेवीका तीजगीतहरु’ सार्वजनिक गरेकी उनका अहिलेसम्म ३ सय हाराहारी तीजगीत रेकर्ड भएका छन् । ‘हरिदेवीका तीजगीतहरु’मा ६ वटा गीत थिए ।
हरिदेवी नेपाली मौलिक तीजगीतको पर्यायजस्तै भएकी छन् । तीजगीतमा आएको परिवर्तनले उनलाई दुखी बनाएको छ । ‘पहिले महिलाले मात्र गाउथे, गीत घटनाप्रधान हुन्थे, बढी विरह, व्यथा हुन्थे, २०४६ पछि चेतनाका कुरा आए,’ उनी भन्छिन्, ‘अहिले महिलाको मर्म, यथार्थ छाँयामा परेको छ । पुरुषले गाउने, दोहोरी जस्तो, रत्यौली जस्तो भयो तीजगीत ।’
तीजगीतको मर्म बुझेर अघि बढ्न युवा पुस्तालाई उनको अनुरोध छ । ‘यो बाआमा, काकाको अघि गाइने गीत हो । रत्यौली जस्ता तीजगीतले लोकसंस्कृतिको क्षेत्रमा विडम्बना नै भयो,’ उनी भन्छिन् । ८ सयभन्दा बढी गीत गाइसकेकी कोइरालाका १३ साहित्यिक कृतिसमेत बजारमा छन् । बाइसे–चौबिसे राजाको समयको हम्काइलो गीतदेखि महिला सशक्तीकरणका भाकासमेत गाएकी कोइराला मौलिक गीत, संगीत नेपालीको पहिचान बनेकी छन् ।
लोकसंस्कृतिविद् डा तुलसी प्रभास पुरुषले गाएका, नाचेका गीतलाई तीजगीत नभई तीजको अवसरमा निकालिएका लोकगीत भन्न रुचाउँछन् । ‘तीजगीत पर्व गीत हो । सांस्कृतिक गीत फेर्न पाइँदैन,’ उनी भन्छन्, ‘संस्कृति नाश हुँदैन, विकृति आउँछ, जान्छ । तीजगीत रमाइलोका लागि मात्रै गाउने गीत होइन ।’









सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया