निसीखोलाका २,४३८ घर बाढीपहिरोको जोखिममा

ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन्। भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन्।
सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नम्बर १ बाढीपहिरोको जोखिममा परेको छ। यस वडामा मात्रै नौ सय २० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ किटेनी, स्वाँरालगायत बस्ती पहिरोको जोखिममा परेका गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए।
विसं २०७४ यता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय बताउँछन्। गाउँपालिकाको तथ्यांक अनुसार वडा नम्बर २ मा दुई सय सात, वडा नम्बर ३ मा एक सय ४०, वडा नम्बर ४ मा चार सय, वडा नम्बर ५ मा एक सय ७०, वडा नम्बर ६ मा ३१ र वडा नम्बर ७ मा पाँच सय ७० घर पहिरोको जोखिममा छन्।
पहिरोले गाउँ नै चिराचिरा परेपछि बर्खाको समय जोखिम मोलेर बस्नु परेको निसीखोला–१ हुल्दीकी हुमकुमारी मल्लले बताइन्। गाउँको बीचमा एउटा ठूलो पहिरो रहेको भन्दै उक्त पहिरो दशकौँ अगाडिदेखि निरन्तर बग्ने गरेको उनको भनाइ छ। आठ वर्ष अगाडिसम्म उक्त पहिरोले गाउँमा ठूलो क्षति नपुऱ्याएको बताउँदै विसं २०७५ देखि त्यसको असरले गर्दा गाउँका विभिन्न स्थानमा जमिन भासिने र चिरिने गरेको मल्लले जानकारी दिइन्।
‘हामीहरू पहिरोका कारण ज्यान कसरी बचाउने भन्ने चिन्तामा छौँ, हिउँदको समय घरमा सुखले बस्छौँ, बर्खाको समयमा ठूलो वर्षा हुने बित्तिकै गाउँ छोडेर भाग्नुपर्छ’, मल्लले भनिन्, ‘गाउँभन्दा माथि दह भन्ने छ, त्यहाँ गाईभैँसी गोठ छन्, त्यहीँ गएर बस्ने गर्छौँ, गाउँपालिकामा धेरै पटक समस्याबारे जानकारी गरायौँ, केन्द्र र प्रदेश सरकारलाई पनि जानकारी गराएका छौँ, अहिलेसम्म हाम्रो समस्या समाधानका लागि कुनै सम्बोधन भएको छैन।’
निसीखोला–२ का पदमबहादुर विकले गाउँमा बाहेक अरू ठाउँमा जग्गा जमिन नहुँदा जोखिममा बस्नु परेको बताए। ठूलो पानी पऱ्यो भने सबै सरसामान बोकेर घर बाहिर निस्कने गरेको उनको भनाइ छ। हुने खाने बसाइँसराइ सरेर तराईतिर झरेका भन्दै उनले आर्थिक अवस्था कमजोर भएका गाउँमै बसेका बताए। सरोकार भएका निकायलाई गाउँको समस्याका बारेमा पटकपटक जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको उनले गुनासो पोखे।
निसीखोला गाउँपालिकाका अध्यक्ष मगरले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिरहेको बताए। जनता आवास कार्यक्रमअन्तर्गत केही नागरिकलाई सुरक्षित स्थानमा सारेर घर निर्माण गरिएको उनले जानकारी दिए।
अप्ठ्यारो भूगोलका कारण हरेक वर्ष बाढीपहिरोबाट यहाँका नागरिकले दुःख पाउँदै आएका उल्लेख गर्दै अध्यक्ष मगरले त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले योजना बनाइरहेको बताए। रासस







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया