पोखराको पार्किङमा पैसाको खेल

विकास रोकामगर
पोखरा
पोखरा महानगर क्षेत्रमा पार्किङका लागि सडक नै ठेक्कामा दिन पटक पटक सूचना जारी गर्यो । पहिलो पटक ७ करोड रुपैयाँमा टेन्डर आह्वान गरेको महानगरले ‘व्यवसायी नआएको’ कारण देखाउँदै सातौं पटकमा ३ करोड रुपैयाँमा टेन्डर मूल्य तोक्यो । तर, टेन्डर मूल्य आधा घटाउँदा पनि व्यवसायी उत्सुक देखिएनन् ।
महानगरले व्यवसायी ‘ठेक्का लिन उत्सुक’ नभएको भन्दै पटक पटक मूल्य घटाउँदै टेन्डर आह्वान गरिरह्यो । आधा मूल्य घट्दा पनि ‘देखिने गरी’ व्यवसायी टेन्डरका लागि आवेदन दिन भने आएनन् । आरोप थियो ‘यो सबै आफ्ना नजिकका व्यवसायीलाई सस्तो दरमा ठेक्का दिन गरिएको एउटा नाटकमात्रै हो ।’
अहिले महानगरले त्यही ‘आरोप’ लाई सत्य सावित गरिदिएको छ । पार्किङ व्यवस्थित गर्न भन्दै सडक नै ठेक्का दिने सूचना (टेन्डर) नै खारेज गर्न लागेको महानगरकै कर्मचारी बताउँछन् । महानगरका जिम्मेबार १ अधिकारी भन्छन्, ‘सुरुमा हामीले पटकपटक सूचना जारी ग¥यौं । कोही उत्सुक नभएपछि खारेज हुन्छजस्तो छ । यस विषयमा महानगरमा चाँडै बैठक बस्दैछ । आधिकारिक कुरा बाहिर नआएकोमात्रै हो ।’
महानगरले पोखराका मुख्य बजार क्षेत्र (न्युरोड, नयाँबजार, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, लेकसाइड)मा सडक पार्किङका लागि ठेक्का दिन टेन्डर आह्वान गरेको थियो । सुरुमा पार्किङ टेन्डरका लागि नाइस नेपाल, मेन्स बिल्डर्स, अशेष निर्माण लगायतले आवेदन दिए । तर, पछि उनीहरुले आफैं ‘काम गर्न नसक्ने’ बताउँदै सम्झौता गर्नै नआएको महानगरको भनाइ दाबी छ ।
टेन्डर रोकेर व्यवसायी प्राथमिकतामा
महानगरले करिब १ वर्षअघि भनेको थियो, ‘महानगरको पार्किङ व्यवस्थित गर्दैछौं । यसका लागि न्युरोड र नयाँबजार प्रदर्शनी केन्द्र नजिक पार्किङस्थल बनाउँदैछौं ।’ महानगरको योजनाअनुसार केही महिनापछि प्रदर्शनी केन्द्रमा पार्किङस्थल पनि बन्यो । तर, पछि महानगरले न प्रदर्शनी केन्द्रको पार्किङ व्यवस्थित गर्न सक्यो न त न्युरोडमै नयाँ पार्किङस्थल तोक्न नै सक्यो ।
पार्किङस्थल नबनेपछि सडकको पश्चिम भागमा ४ पांग्रे साधन र पूर्वी भागमा २ पांग्रे सवारी साधन निशुल्क पार्किङ गर्न दिइरहेको थियो । यसले ‘सडक व्यवस्थापन कुरुप’ देखिए पनि सवारी धनीलाई भने सहजै बनाएको थियो ।
२ साता अघि महानगरले सूचना निकाल्यो, ‘पुस १ गतेदेखि सडकमा पार्किङ गर्न पाइँदैन । यदि त्यसो गरेको पाइए कारवाही गरिने छ ।’ सडकमा पार्किङ नगरेर कहाँ गर्ने ? महानगरले कहाँ ठाउँ तोकेको छ ? महानगरसँग उत्तर थिएन ।
पुस १ गते न्युरोडको सडकमा नयाँ दृश्य देखियो । अन्य दिनभन्दा बढी ट्राफिक प्रहरी देखिए र ‘सडकको पश्चिम’ भागमा पार्किङ गरिएका गाडी हटाउन थाले । दिनभर सवारी धनी र ट्राफिक प्रहरीको भनाभन चलिरह्यो । चालक प्रश्न गर्थे, ‘यहाँ नगरे कहाँ गर्ने ? ठाउँ तोकिदेऊ हामी त्यहीं पार्किङ गर्न तयार छौं ।’ ट्राफिक प्रहरी जवाफ दिन्थे, ‘कि घरमा पार्किङ गर कि पेड पार्किङ सुरु भइसकेको छ त्यहीं गर ।’ यो दृश्य र संवाद मंगलबार पनि दोहोरियो ।
महानगरले पोखरा सभागृहदेखि चिप्लेढुंगासम्म सडकको पश्चिम भागमा ४ पांग्रे गाडी पार्किङ नगर्न र प्रिपेड पार्किङमा जान हाकाहाकी भन्दै आइरहेको छ । फिस्टेल प्रिपेड पार्किङले सडक छेउका खाली ठाउँमा रकम लिएर पार्किङ सुरु गरेको छ । जबकि महानगर र फिस्टेलबीच पार्किङका लागि कुनै सम्झौता भएको छैन । महानगर भन्छ, ‘हिजो (सोमबार)देखि त्यहाँ पार्किङ गर्नदिने कुरा भएको छ । तर, सम्झौता भएको छैन । भोलि (बुधबार) सूचना निकाल्दैछौं ।’
पार्किङस्थल नबनाएरै निजी कम्पनीलाई सडक पार्किङ बन्द गरेको महानगरको अदूरदर्शी योजनाका कारण अहिले ४ पांग्रे गाडी धनी मर्कामा छन् । उनीहरु प्रतिघन्टा ३५ रुपैयाँ तिरेर निजी कम्पनीको पार्किङस्थलमा जान बाध्य छन् ।
पार्किङस्थल व्यवस्थापनबिनै सडकमा पार्किङ गर्न नपाइने नियम लागु गरेपछि सन्तोष पोखरेलले सामाजिक सञ्जालमा गाडीमा ट्राफिकले साङ्ला बाँधेको फोटोसहित लेखेका छन्, ‘सवारी चालकलाई ट्राफिकले अपराधीलाई जस्तै व्यवहार गर्छ । पोखरा महानगर पालिकाको सडकमा गाडी दौडाउनु के अपराध हो ? कहिले सूचना बोर्डनै नराखी पार्किङ गर्न हुँदैन भन्दै गाडीमासाङ्लो लगाउछ । कहिले यो ठाउ बस रोक्ने ठाउँ हो पार्किङ गर्न पाइन्थेन भन्दै साङ्लो लगाउँछ ।’
व्यवसायी दिलीप श्रेष्ठले महानगरको निर्णयप्रति विरोध गरे । ‘कि त सुरुमा पार्किङस्थल तोकेर निर्णय गरेको भए हुन्थ्यो, नत्र यसरी त हामीलाई सजाय नै भयो,’ समाधानसँग कुरा गर्दै उनले भने, ‘न्युरोड क्षेत्रमा व्यवसायीलाई पनि यसले चर्को सकस भएको छ ।’
पार्किङ व्यवस्थित गर्न लागेका हौंः महानगर
पार्किङका लागि सडक नै पार्किङमा दिँदा यसअघि महानगरले २ वर्षमा ३ करोड आम्दानी गर्दथ्यो । तर, अहिले सो ठेक्का पनि नगर्ने निर्णयमा पुगिसेकेको छ । यसबाट महानगरलाई ३ करोडमात्रै गुमेको छैन उल्टै पार्किङ अधिकार दिएको फिस्टेललाई पनि ‘कुनै पनि कर’ तिर्न नपर्ने सुविधा दिएको छ । स्रोतका अनुसार ‘पार्किङ निषेध’ लेखिएका बोर्डसमेत कम्पनीले नै महानगरलाई उपलब्ध गराएको छ ।
‘यो हाम्रो लागि होइन, महानगरको सडक पार्किङ व्यवस्थित गर्नका लागि हो,’ पोखरा महानगर सडक व्यवस्थापन समिति प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘यसमा निजी संस्थाले सहयोग गर्छु भनेर आएपछि हामीले स्वीकृति दिएका हौं । यसबाट महानगरलाई कुनै आम्दानी हुँदैन । तर, उनीहरुले राज्यलाई सहयोग पुर्याउँछन् नि !’
पार्किङका लागि अरु निजी कम्पनी आए स्वीकृत दिन तयार भएको र ‘चाँडै’ सूचना आह्वान गरिनेसमेत जानकारी दिए । ‘भाडा उठाएर पार्किङ व्यवस्थित गर्न जो सुकै आए पनि स्वीकृत दिन्छौं । तर, त्यसका लागि कम्तीमा २ वर्षको सम्झौता महानगरसँग गर्नुपर्छ,’ उनले भने ।
पौडेलले न्युरोडपछि पृथ्वीचोक, हल्लनचोक, महेन्द्रपुल लगायतका ठाउँमा पनि ‘वान साइडेड टु ह्विलर पार्किङ’ व्यवस्था लागु गर्न लागिएको जानकारी दिए । महानगरले पार्किङका लागि महानगरले २ पांग्रेलाई २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकिएको बताए । तर, कम्पनीले बोर्डमै चारपांग्रेलाई प्रतिघन्टा ३५ रुपैयाँ तोकेको छ । ‘महानगरको नियमविपरित कम्पनीले उठाइरहेको रहेछ । हामी चिठी लेखिसकेका छौं,’ उनले भने ।
महागरसँग कुनै ‘कनेक्सन’ छैनः कम्पनी
महानगरले न्युरोड क्षेत्रमा ४ पांग्रे गाडी पार्किङ नगरी फिस्टेल प्रिपेडमा पार्किङ गर्न भनिरहेको छ । तर, कम्पनीका सञ्चालक सन्तोष पराजुलीले आफ्नो व्यवसाय र महानगरबीच कुनै सम्बन्ध नभएको बताएका छन् । उनले आफ्नो विशुद्ध व्यवसाय भएकाले ‘इस्यु’ का रुपमा नलिन आग्रह गरे ।
‘न्युरोड क्षेत्रमा पैसा तिरेर पनि पार्किङ गर्नसक्ने अवस्था छैन । त्यही भएर यो व्यवस्था सुरु गरेको हुँ,’ समाधानसँग उनले भने, ‘पार्किङ सुविधा पब्लिकलाई चाहिएको हो । यसमा मैले सुविधा उपलब्ध गराएकोमात्रै हुँ ।’ उनले ‘नो पार्किङ’ बोर्ड महानगरलाई उपलब्ध नगराएको पनि दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया