पोखरामा डेंगी संक्रमितको संख्यामा वृद्धि

गण्डकी । पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेंगी संक्रमणका बिरामी थपिएका छन् ।
यही साउन १० गतेसम्ममा ३०३ जनामा डेंगी संक्रमण पुष्टि भएकामा आइतबार उक्त संख्या वृद्धि भई ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी संख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता मनाङबाहेक प्रदेशका १० जिल्लामा कूल ८११ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
प्रदेश राजधानी पोखरा गत वर्ष डेंगीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेंगी संक्रमण भएको थियो । डेंगी संक्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेंगी संक्रमणको जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रमणको दर बढ्न सक्ने अनुमान गरिएको छ ।
गत वर्षजस्तो संक्रमण व्यापक हुन नदिन उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेंगी संक्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा रहेको बताए । वर्षायाम सुरु भएपछि डेंगी संक्रमणको दर बढ्दै गएको हो ।
गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा बढी कास्कीमा ४४१, तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुरमा चार र मुस्ताङमा जम्मा एक जनामा डेंगी संक्रमण पुष्टि भएको हो । कास्कीमा संक्रमण पुष्टि भएका ४४१ मध्ये ४३२ जना पोखरा महानगरपालिकाका हुन् । पोखरा महानगर लगायत प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेंगी फैलनबाट रोक्न डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु भए पनि डेंगी रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेंगी रोकथाम र नियन्त्रण गर्न कठिन हुने स्वास्थ्यकर्मी बताउँछन् ।
डेंगी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको वासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फूल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय मानिन्छ । रासस









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया