पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री नियुक्त

पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरत खत्री नियुक्त भएका छन् । सत्तारुढ दलहरूबीचको लामो राजनीतिक खिचातानी र भागबन्डाको विवादलाई चिर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्ततः नयाँ उपकुलपति पाएको हो । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रधानमन्त्री ओलीले मंगलबार डा. खत्रीलाई सो पदमा नियुक्त गरेका हुन् । यो नियुक्तिसँगै विगत तीन महिनादेखि नेतृत्वविहीन रहेको प्रतिष्ठानको गतिरोध अन्त्य भएको छ । सोल्जर बोर्ड अस्पतालको रूपमा सुरु भई कास्की जिल्ला अस्पताल, गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । त्यसैको मातहतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल छ । प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ चलाइरहेको छ ।
सुरुवाती अवस्थामा ६ वटा विधामा स्नातकोत्तर कोर्स सञ्चालन सुरु गरेको थियो र अहिले १० वटा विधामा पोस्ट ग्र्याजुएट कोर्सको पढाइ सञ्चालन गरिरहेको छ । यस वर्षदेखि जेनेरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन (एमडीजीपी), साइकाइट्री र अपथाल्मोलोजी विषयमा पिजी कोर्स सुरु हुँदैछ । अन्डरग्राजुएट कोर्समा बिएस्सी नर्सिङ तथा बीएनएसमा ३÷३ ब्याचको पढाइ चलिरहेको छ । यस शैक्षिक सत्रदेखि एमबीबीएसको पढाइ सुरु भएको छ र ५० जना विद्यार्थीहरू छन् ।
गत चैतमा पोखरासहित बीपी कोइराला (धरान), पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकाल सकिएको थियो। तर, सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच प्रतिष्ठानको नेतृत्वमा भागबन्डा मिल्न नसक्दा नियुक्ति प्रक्रिया रोकिएको थियो ।
सुरुमा धरान र कर्णाली कांग्रेसको तथा पाटन र पोखरा एमालेको भागमा पर्ने प्रारम्भिक सहमति बनेको थियो। तर, स्वास्थ्य मन्त्री प्रदीप पौडेल (कांग्रेस)ले पोखरा प्रतिष्ठान आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएपछि विवाद चर्किएको थियो । मन्त्री पौडेलले आफ्नो गृह प्रदेश गण्डकीमा राजनीतिक पकड बलियो बनाउन पोखरामा आफूअनुकूल व्यक्ति नियुक्त गर्न चाहेको चर्चा थियो ।
उनले पोखरा लिएर धरान एमालेलाई दिन तयार रहेको प्रस्तावसमेत गरेका थिए । अर्कोतर्फ, एमालेका नेताहरूले पोखरा प्रतिष्ठान कुनै हालतमा नछाड्न प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए । यही रस्साकस्सीका कारण असार पहिलो साता स्वास्थ्य मन्त्री पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले समेत लामो समयसम्म कुनै निर्णय लिन सकेको थिएन ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पोखरा प्रतिष्ठानका लागि १७ जना आवेदकबाट ६ जनाको नाम सर्टलिस्ट गरेको थियो । सामान्यतया ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा ६ जनाको सूची सार्वजनिक गरिनुले पनि राजनीतिक दबाबलाई संकेत गरेको थियो । त्यही सूचीबाट निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका डा. खत्रीलाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका हुन् । प्राडा खत्री यसअघि प्रतिष्ठानमा निर्देशक थिए ।
डाक्टरहरु अर्जुन आचार्य, प्रदीप घिमिरे, माया लामा, चण्डिका पण्डित, निमित्त उपकुलपति भरतबहादुर खत्री, राकेशकुमार बर्मा, राजेश अधिकारी, नारायणसिंह गुरुङ, प्रेमराज ज्ञवाली, विधाननिधि पौडेल, ईश्वर शर्मा कँडेल, दीपकराज पौडेल, श्रीकृष्ण श्रेष्ठ, कालु शर्मा सुवेदी, विष्णुप्रसाद शर्मा, रामेशराज कोइराला, लक्ष्मीनारायण सिंह गरेर १७ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ जनाको संक्षिप्त सूचीमा अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल, भरतबहादुर खत्री र माया लामाको नाम थियो ।
नेतृत्वविहीन हुँदा प्रतिष्ठानको नीति, योजना र शैक्षिक गतिविधिमा गम्भीर असर परेको थियो । यो नियुक्तिले अब प्रतिष्ठानका कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ । प्राडा खत्रीले निर्देशक भएर ४ वर्ष काम गर्दा विभिन्न उपलब्धि हाँसिल गरेका बताएका छन् । ‘पछिल्ला ४ वर्षमा प्रतिष्ठान र अस्पताल परिवार मिलेर विभिन्न विभागलाई स्तरोन्नति गरी कम्तीमा ५० वटा उल्लेख गर्न लायक काम भएको छ,’ उनले भनेका छन् ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया