पोखरा र बागलुङमा महिला उद्यमीले सहकार्य गर्ने

समाधान संवाददाता २०८२ साउन ३० गते ९:४१

पोखरा ।
पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीले उद्यमशीलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता गरेका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी विकास उपसमितिबीच भएको अन्तक्र्रियामा सो सहमति जुटेको हो ।


पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास उपसमिति संयोजक वन्दना कार्की केसीले देशको नीति निर्माणदेखि प्रशासनिक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि महिलाले ठूलो होइन, सानोतिनो व्यवसायमात्र गर्ने हो भन्ने मानसिकताबाट नेपाली समाज मुक्त हुन नसकेको धारणा राखिन् ।

‘हस्तकला, साना तथा घरेलु उद्योगमात्र महिलालाई जिम्मा लगाउने प्रवृत्तिबाट माथि नउठेसम्म देशमा उद्यमशिलताको विकास हुन सक्दैन,’ उनले भनिन्, ‘राज्यले महिला उद्यमशिलता विकासका लागि गरेका केही नीतिगत व्यवस्था साँच्चै राम्रा छन् । महिलाको नाममा उद्योग/व्यवसाय दर्ता गर्दा दिइने छुट,पछिल्लो समय बैंक तथा वित्तीय संस्थामार्फत् महिला उद्यमशिलताका लागि प्रदान गरिएका कर्जाहरुको हामीले पनि उपयोग गर्नुपर्छ ।’

Advertisement


महिला उद्यमी विकास समिति बागलुङ अध्यक्ष अर्चनाकुमारी पालिखेले आफू व्यवसायमा कसरी सफल भइन्छ भन्नेबारे महिला स्वयं सचेत हुँदा व्यवसाय पनि सफल हुने बताइन् । उनले बागलुङका दूरदराजका गाउँमा उत्पादित अर्गानिक बस्तुको बजारीकरणमा सहकार्यको प्रस्ताव पनि राखिन् ।


‘महिलाले केही गर्न सक्दैनन् भन्ने पुरुषवादी सोच बाँकी नै छ तर हामी आफैमा पनि माथि जान नचाहने बानी छ,’ उनले भनिन्, ‘कोष व्यवस्थापनमा महिलाले आफूलाई अब्बल सावित गरेका छन् । अन्य क्षेत्रमा पनि महिलाले अवसर पाए धेरै गर्न सक्छन् ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशीलता विकासका निम्ति चाहिने आवश्यक तालिम र बजारीकरणमा संघले सघाउने बताए । संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले महिलाले उत्पादन गरेका सामग्रीको बजार बढ्दै गएको बताउँदै गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

Advertisement


संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य वसन्त उदासले उद्योग वाणिज्य संघहरुले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै उद्योग वाणिज्य संघहरुबीचको सहकार्यले व्यवसाय प्रवद्र्धनमा सघाउने धारणा राखे । संघकी महासचिव शोभा गौतमले एकतमा शक्ति हुने बताउँदै महिला उद्यमीबीच उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याइन् ।


बागलुङ उद्योग वाणिज्य संघकी महिला सचिव सचिव सिर्जना राजभण्डारी श्रेष्ठले महिला उद्यमशिलता विकासमा पुरुषहरुको साथ पनि जरुरी रहेको धारणा राखिन् । बागलुङको महिला उद्यमी समितिकी सल्लाहकार उषा पौडेलले आर्थिक स्रोतमा महिलाहरुको पहुँच नहुँदासम्म आत्मनिर्भरताको यात्रा अधुरो हुने बताइन् ।


महिला उद्यमी समिति बागलुङकी महासचिव पिंगला जिसीले उद्योग वाणिज्य संघहरुले महिला नेतृत्व विकासका निम्ति विशेष अभियान थाल्नुपर्नेमा जोड दिइन् । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुरेश घिमिरेले महिलाले आफूले प्राप्त गरेको अवसरको सदुपयोग गर्नुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया