२२ अर्बको विमानस्थल, दुई वर्षमा जम्मा ४२ अन्तर्राष्ट्रिय उडान

पोखरा। विसं २०७४ मा निर्माण सुरु भई करिब २२ अर्ब रुपैयाँको लागतमा तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लाग्दा पनि अन्तर्राष्ट्रिय उडानमा अपेक्षित गति लिन सकेको छैन। सन् २०२३ जनवरी १ देखि व्यावसायिक सञ्चालनमा आएको यो विमानस्थलबाट अहिलेसम्म जम्मा ४२ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन्।
विमानस्थल प्रभावकारी ढंगले सञ्चालन हुन नसक्दा पर्यटनको राजधानी पोखरालाई सिधै विश्वसँग जोड्ने र विदेशी पर्यटक भित्र्याउने गण्डकी प्रदेशको महत्वाकांक्षी योजनामा धक्का पुगेको छ। अहिलेसम्म भएका अधिकांश उडानहरू चार्टर प्रकृतिका छन् भने हिमालयन एयरलायन्सले थालेको साप्ताहिक नियमित उडानबाहेक यो विमानस्थल मूलतः आन्तरिक उडानमा नै सीमित देखिन्छ।
विमानस्थलको तथ्यांक अनुसार, सन् २०२३ मा ७, सन् २०२४ मा ४ र सन् २०२५ का लागि २ वटा गरी हालसम्म जम्मा १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। त्यसैगरी, हिमालयन एयरलायन्सले उद्घाटन उडानसहित पोखरामा २१ पटक अवतरण गरेको छ। सिचुवान एयरले ११ उडान गर्दा अन्य विभिन्न एयरलायन्सका जहाजले १० पटक पोखराको भूमि छोएका छन्। हिमालयन एयरलायन्सले मार्च महिनादेखि चीनको ल्हासासम्म सुरु गरेको साप्ताहिक उडानमा पनि यात्रुको संख्या उल्लेख्य हुन सकेको छैन।
विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले दिएको जानकारी अनुसार, सिचुवान एयरलाइन्सले मात्रै आफ्ना ११ उडानमार्फत एक हजार १२७ पर्यटक पोखरा ल्याएको छ भने यहाँबाट ७९७ यात्रुलाई चीन लगेको छ। यसरी सिचुवानको व्यावसायिक चार्टर उडानबाट कुल एक हजार ९२४ जनाले यात्रा गरेका छन्। समग्रमा, विमानस्थल सञ्चालनमा आएदेखि हालसम्म अन्तर्राष्ट्रिय उडानबाट कुल दुई हजार ९१० जनाले यात्रा गरेको विमानस्थलको तथ्यांकले देखाउँछ। यो अवधिमा सिचुवान र हिमालयनसहित जम्मा १० वटा एयरलायन्सका जहाज पोखरामा अवतरण गरेका छन्।
प्रवक्ता सुवेदीले भविष्यका लागि केही सकारात्मक संकेत देखिएको बताइन्। उनले भनिन्, ‘आगामी सेप्टेम्बरबाट अर्को एउटा एयरलायन्सले उडान सुरु गर्ने प्रारम्भिक जानकारी आएको छ र सिचुवानले पनि पोखरामा नियमित उडान गर्ने योजनाबारे हामीलाई सूचित गरेको छ।’
उद्घाटनको करिब आठ महिनापछि गत वर्षको भदौमा भुटानको ड्रुक एयरले पहिलो व्यावसायिक उडान गरेको थियो। उक्त उडानमा केवल तीन जना यात्रु पोखरा आएका थिए भने फर्कंदा ४२ जना यात्रुले यात्रा गरेका थिए।
अन्तर्राष्ट्रिय उडानमा निराशाजनक अवस्था रहे पनि आन्तरिकतर्फ भने यात्रुको चाप बढेको देखिन्छ। नयाँ विमानस्थल सञ्चालनमा आएपछि सन् २०२३ मा ९ लाख ५ हजार र सन् २०२४ मा १० लाख २३ हजार यात्रुले आन्तरिक उडानबाट यात्रा गरेका छन्, जसले विमानस्थलको आन्तरिक उपादेयतालाई भने पुष्टि गर्छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया