भजनमा बडहरबोट समूहलाई १ लाख

पोखरा ।
पोखराको बाटुलेचौरमा भएको कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरबोट भजन समूह प्रथम भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ । शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको २६औँ संस्करणको प्रतियोगितामा द्वितीय तनहुँ शुक्लागण्डकीको महेश्वर खनाल भजन समूह, तृतीय हेम्जाको मातृकेश्वर भजन समूह र भद्रकाली खैंजडी भजन समूह र धर्मस्थली भजन समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
उनीहरूलाई क्रमशः नगद ७५ हजार र प्रमाणपत्र, ५० हजार र प्रमाणपत्र, र २५ हजार र प्रमाणपत्र प्रदान गरिएको प्रचारप्रसार संयोजक सञ्जय थापाले जानकारी दिए । प्रतियोगितामा तनहुँ, स्याङ्जा, धादिङ लगायतका विभिन्न जिल्लाबाट १६ टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीलाई प्रोत्साहन स्वरूप जनही नगद ५ हजार र सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ ।
सहभागी भजन टोलीको प्रस्तुतिको मूल्यांकन भने लोकदोहोरी कलाकारले गरेका थिए । लोकदोहोरी गायक जीवन दाहाल, तारापति सुवेदी, सरला लामिछाने ’सरू’ र प्रेमराज अधिकारीले मूल्यांकन गरेका हुन् । नतिजाको घोषणा लोकदोहोरी गायक जीवन दाहालले गरेका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा प्राकृतिक, सांस्कृतिक र कलाले भरिपूर्ण सहर भएको बताउँदै कला, साहित्य र संस्कृतिको कुनै सीमा नहुने बताए । उनले यस किसिमका संस्कृति संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । यस किसिमका कार्यका लागि प्रदेश सरकार र आफ्नो मन्त्रालय जहिले पनि सहयोग गर्न तयार रहेको मन्त्री थापाले स्पष्ट पारे ।
त्यस अवसरमा मन्त्री थापाले आफ्नो तर्फबाट १६ नम्बर वडाको विकासमा गरेका कामको फेहरिस्त समेत सुनाएका थिए । प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाँले प्रतिष्ठानले हालसम्म गरेका कार्य र उद्देश्यका बारेमा जानकारी गराउँदै साहित्य, कला र संस्कृति बुझेको व्यक्तिले मात्र गण्डकी प्रज्ञा प्रतिष्ठान हाँक्न सक्ने बताए । मन्त्री थापाले कार्यक्रमका लागि प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई प्रमाणपत्र प्रदान गरे ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक दुर्गादेवी बस्नेत गौतमले कला, संस्कृति र साहित्यको विकासका लागि संस्थाले निरन्तर कार्य गरिरहेको बताइन् ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, संस्कृतिविद् डा. जगमान गुरुङ, प्रदेश सभाका पूर्व सदस्य प्रभा कोइराला, पूर्व मेयर एवं एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, सर्जक रामबहादुर कोइराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ’विखर्ची’, एमाले नेता तेजनारायण अधिकारी, विभिन्न वडाका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गीता भट्टराई भण्डारी र सञ्चालन सचिव रामप्रसाद पौडेल ‘घर्मेली’ले गरेका थिए । कार्यक्रम हेर्न त्यस आसपासका विभिन्न क्षेत्रबाट उल्लेख्य रूपमा दर्शक सहभागी भएका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया