गण्डकी विश्वविद्यालयका डा. राजकुमार थापा विश्व विज्ञान प्रतिष्ठान (ट्वास्) को युवा सम्बन्धन सदस्यमा नियुक्त

पोखरा । गण्डकी विश्वविद्यालयस्थित अनुसन्धान केन्द्र, आविष्कार तथा नवप्रवर्तन केन्द्रका निर्देशक डा. राजकुमार थापा विश्व विज्ञान प्रतिष्ठान (द वर्ल्ड एकेडेमी अफ साइन्सेस – ट्वास्) को मध्य तथा दक्षिण एसिया क्षेत्रका लागि युवा सम्बन्धन सदस्यमा नियुक्त भएका छन् ।
उनलाई सन् २०२५ देखि २०३० सम्मको कार्यकालका लागि नियुक्त गरिएको हो । यो प्रतिष्ठित सम्मानले डा. थापाले फार्मेसी तथा फर्मास्युटिकल विज्ञानको क्षेत्रमा स्थानीय, क्षेत्रीय र विश्वव्यापी स्तरमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गरेको छ ।
ट्वास् एक योग्यतामा आधारित विज्ञान प्रतिष्ठान हो, जुन विकासोन्मुख देशहरूमा विज्ञानलाई अगाडि बढाउन समर्पित छ । यसले १०० भन्दा बढी राष्ट्रका १,४०० भन्दा बढी वैज्ञानिकहरूलाई एउटै मञ्चमा ल्याएको छ । इटालीको ट्रिएस्टेमा मुख्यालय रहेको ट्वासले अनुसन्धान, शिक्षा, नीति र विज्ञान कूटनीतिमार्फत दिगो समृद्धिलाई बढावा दिन्छ ।
ट्वास् युवा सम्बन्धन कार्यक्रमले वार्षिक रूपमा ४० वर्षभन्दा कम उमेरका २५ जनासम्म उत्कृष्ट वैज्ञानिकहरूलाई ६ वर्षे कार्यकालका लागि छनोट गर्दछ । सम्बन्धन सदस्यहरूले ट्वासका फेलोहरूसँग नजिकबाट संलग्न हुने, साधारण सभा र सम्मेलनहरूमा भाग लिने, र ट्वासका क्षेत्रीय साझेदारहरूद्वारा नेतृत्व गरिएका पहलहरूमा योगदान पुर्याउने अवसर पाउँछन् ।
डा. थापा गण्डकी विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धान केन्द्र, आविष्कार तथा नवप्रवर्तन केन्द्रका निर्देशक हुन् । उनको अनुसन्धान लक्षित नानो पार्टिकल्स, जीन थेरापी, र एन्टिमाइक्रोबियल डेलिभरी प्रणालीको प्रयोगबाट क्यान्सर र दीर्घकालीन घाउहरूको नवीन उपचारमा केन्द्रित छ । उनी स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सिभियर (सन् २०२०-२०२४) द्वारा गरिएको एक वरीयता अनुसार विश्वका शीर्ष २% वैज्ञानिकहरू मध्येमा पनि पर्छन् ।
डा. थापाले भने, ‘ट्वास्को युवा सम्बन्धन सदस्यको रूपमा नियुक्त हुनु एक ठूलो सम्मान हो । यो सम्मानले मलाई अनुसन्धान, नवप्रवर्तन र सहकार्यमार्फत विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न निरन्तर लागिरहन प्रेरित गर्दछ ।’
डा. थापाको यो उत्कृष्ट सम्मानका लागि गण्डकी विश्वविद्यालयले उनीप्रति गौरवान्वित भएको जनाएको छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया