अन्तर्राष्ट्रिय मञ्चमा सांसद सुनिता थापाको सशक्त प्रस्तुति
गण्डकीको अपांगता विधेयकलाई विश्वव्यापी चर्चा

पोखरा । व्यक्तिगत संघर्षलाई शक्तिमा बदल्दै गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले नेपालको अपांगता अधिकारको आन्दोलनलाई विश्व मञ्चमा सफलतापूर्वक प्रस्तुत गरेकी छन्। बहिरासम्बन्धी अपांगता भएकी सांसद थापाले हालै अमेरिकाको २५ दिने भ्रमणका क्रममा विश्वव्यापी सम्मेलनलाई सम्बोधन गर्नुका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी नेपालको समावेशी लोकतन्त्रको अभ्यासलाई अन्तर्राष्ट्रियकरण गरेकी हुन्।
उनको अमेरिका भ्रमणको मुख्य आकर्षण लस भेगसमा साउन ६ देखि ८ सम्म आयोजित विश्वव्यापी बहिरा सम्मेलन (डेफनेसन वर्ल्ड एक्स्पो एन्ड कन्फेरेन्स) रह्यो। सयौं देशका प्रतिनिधिमाझ उनले आफ्नो संसदीय यात्राको अनुभव सुनाउँदै नेपालको बहिरा समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिन्। “राजनीतिमा बहिरा र अपांगता भएका व्यक्तिको सहभागिताबिना समावेशी लोकतन्त्र पूर्ण हुँदैन,” सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्।
भ्रमणका क्रममा थापाले न्यूयोर्क राज्य संसद्का सदस्य स्टेभेन र्यागासँग विशेष भेट गरिन्, जहाँ उनलाई ‘युवा नेतृत्व र अपांगता अधिकारको प्रतीक’ भन्दै सम्मानपत्र प्रदान गरियो। दुई जनप्रतिनिधिबीच अपांगता भएका व्यक्तिको अधिकार र समावेशी नीति निर्माणबारे गम्भीर विमर्श भयो। सांसद र्यागाले अमेरिकामा अपांगता भएका समुदायले भोगेका चुनौतीबारे चर्चा गर्दै भविष्यमा युवा नेतृत्व र अधिकारका क्षेत्रमा सहकार्य गर्ने सहमति जनाए। थापाले उनलाई नेपालको पर्यटकीय राजधानी गण्डकी प्रदेश भ्रमणको निम्तोसमेत दिइन्। यसबाहेक, उनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारीहरूसँग भेटेर आफूले नेतृत्व गरेको प्रदेशस्तरीय अपांगता विधेयकबारे जानकारी गराइन्।
आफ्नो भ्रमणका क्रममा उनले प्रवासी नेपाली समुदायसँग पनि निकट सम्बन्ध स्थापित गरिन्। मगर संघ अमेरिकाले आयोजना गरेको कार्यक्रममा उनले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने विधेयक पारित भएको सुखद समाचार सुनाइन्, जसप्रति प्रवासी समुदायले गर्व महसुस गर्दै उनलाई सम्मान गर्यो। यसका अतिरिक्त स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समाज, जनसम्पर्क समिति अमेरिका र जीपीके फाउन्डेसनजस्ता संस्थाका कार्यक्रममा समेत उनले नेपालको समावेशी विकास र युवा नेतृत्वको आवश्यकतामाथि प्रकाश पारिन्।
राजनीतिक जिम्मेवारीसँगै सांसद थापाले आफ्नो व्यक्तिगत अनुभवबाट प्रेरित सामाजिक अभियान ‘सुस्केरा फाउन्डेसन’ लाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिन्। “जीवनमा पटकपटक टुक्रिएको छु, तर आशा र निरन्तर प्रयासले म आज यहाँसम्म आइपुगेकी छु। अब यो अनुभवलाई समाजकै लागि बदल्न चाहन्छु,” उनले भनिन्। उनको फाउन्डेसनले अपांगता भएका, असहाय महिला र शिक्षाबाट वञ्चित बालबालिकाका लागि काम गर्ने उद्देश्य राखेको छ। स्याङ्जा समाज अन्तर्राष्ट्रिय मञ्चले फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
सांसद थापाले आफ्नो २५ दिने अमेरिका बसाइलाई छोट्याएर स्वदेश फर्कनुको पछाडि एक विशेष कारण थियो। उनले नेतृत्व गरेको ‘अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ गण्डकी प्रदेशसभाबाट पारित हुने अन्तिम चरणमा थियो। उनी फर्किएलगत्तै उक्त विधेयक प्रदेशसभाबाट पारित भएको छ ।









लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया