पोखराका सामुदायिक विद्यालयमा डिजिटल सिकाइ, प्रअहरूलाई अभिमुखीकरण

समाधान संवाददाता २०८२ भदौ ६ गते ८:१०

पोखरा ।  पोखरा महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई डिजिटल लर्निङबारे अभिमुखीकरण गरिएको छ । ‘एम्बिसन गुरु’ नामक एपमार्फत विशेषगरी कक्षा १० का विद्यार्थीको सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उनीहरूलाई प्रशिक्षण दिइएको हो ।

एम्बिसन गुरु एउटा मोबाइल एप र वेबमा आधारित डिजिटल शैक्षिक प्लेटफर्म हो । विद्यालयमा सिकेको कुरामा अलमल भएमा वा थप स्पष्ट हुन यो सहयोगी हुने बताइएको छ ।

एपलाई फन्डिङ गरिरहेको घुन्सा फाउन्डेसनकी संस्थापक एवं नेपाल ट्रस्टकी कार्यकारी सदस्य याङ्जोम शेर्पाले शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनु ‘एम्बिसन गुरु’को लक्ष्य रहेको बताइन् । उनका अनुसार, एपले न्यून शुल्कमा उत्कृष्ट शिक्षा दिने दाबी गरेको छ । हाल सामुदायिक विद्यालयका कक्षा १० का विद्यार्थीलाई भने निःशुल्क अनलाइन शिक्षा दिइरहेको छ ।

Advertisement

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एपमा भएका पुनरावृत्ति, मक टेस्ट र लाइभ टिचिङ जस्ता फिचरले विद्यार्थीको सिकाइमा सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले यसको सहायताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रधानाध्यापकहरूलाई निर्देशन दिए ।

विद्यालय शिक्षाको अवस्था सन्तोषजनक भए पनि ढुक्क हुने अवस्था नरहेको उनले बताए । आचार्यले विद्यार्थी केन्द्रित सिकाइमा जोड दिँदै आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरेर नतिजामा परिणत गर्न सुझाव दिए ।

Advertisement

तपाईको प्रतिक्रिया