शिक्षक महासंघद्वारा सरकारविरुद्ध नयाँ आन्दोलनको घोषणा, २७ बुँदे सहमति कार्यान्वयन नभएको आरोप

समाधान संवाददाता २०८२ भदौ ६ गते १२:३४

पोखरा ।

सरकारले विगतमा गरेको २७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासङ्घले पुनः आन्दोलनमा उत्रिने निर्णय गरेको छ । महासङ्घले उक्त सहमतिलाई आफ्नो ‘बटमलाइन’ भएको बताउँदै सरकार आफ्ना मागहरूबाट पछि हटेको आरोप लगाएको छ ।

शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै महासङ्घले आन्दोलनका नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको हो । अब सुरु हुने आन्दोलन पहिलेभन्दा निकै कडा र दबाबपूर्ण हुने चेतावनी दिँदै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘अबको आन्दोलन हिजोको भन्दा कडा र दबाबपूर्ण हुन्छ ।’

Advertisement

सार्वजनिक गरिएको कार्यक्रमअनुसार, महासङ्घले आन्दोलनको पहिलो चरणमा विभिन्न तहमा ध्यानाकर्षण पत्र बुझाउने र धर्ना दिने योजना बनाएको छ । यसै क्रममा भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र बुझाइनेछ । त्यसपछि भदौ ११ गतेदेखि २० गतेसम्म सबै राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा पुगेर दुई घण्टाको प्रतिनिधिमूलक धर्ना दिइनेछ ।

आन्दोलनलाई देशभर विस्तार गर्ने योजनाअनुरूप भदौ १३ गते सबै पालिकाहरूमा र भदौ १५ गते सबै जिल्ला समन्वय एकाइहरूमा पनि प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिइने अध्यक्ष सुवेदीले जानकारी दिए ।

Advertisement

पहिलो चरणको कार्यक्रम सकिएपछि पनि माग सुनुवाइ नभए आन्दोलनलाई थप सशक्त बनाइने महासङ्घले जनाएको छ । अध्यक्ष सुवेदीका अनुसार, भदौ २१ गते दोस्रो चरणका कार्यक्रमहरू घोषणा गरिनेछ, जसमा अवधारणात्मक विरोध र प्रदर्शनजस्ता थप कडा कार्यक्रमहरू समावेश हुनेछन् ।

तपाईको प्रतिक्रिया