गौरमा सुटकेसभित्र महिलाको शव, सनाखत खुल्यो

समाधान संवाददाता २०८२ भदौ ८ गते ११:३९

गौर ।

रौतहटको गौरमा सडक छेउमा भेटिएको सुटकेसभित्र एक महिलाको शव फेला परेको छ । प्रहरीले मृतकको सनाखत गरेको छ, उनी माधव नारायण नगरपालिका-६, माधोपुर निवासी ३० वर्षीया रुबी देवी साह हुन् ।

Advertisement

साह शनिबार ‘ब्युटी पार्लर जान्छु’ भनेर गौर-२, महादेव पट्टीस्थित आफ्नो डेराबाट निस्किएकी थिइन् । साँझ ६ बजे परिवारले सम्पर्क गर्न खोज्दा उनको फोन नलागेपछि परिवार चिन्तित बनेको थियो । सुटकेसमा शव भेटिएको खबर सार्वजनिक भएपछि उनकी आमा मिथिलेश देवीले हराइरहेकी छोरीको शव हुन सक्ने भन्दै प्रहरीलाई सम्पर्क गरेकी थिइन्, जसबाट शवको पहिचान खुलेको हो ।

गौरको सडक किनारमा शनिबार राति करिब १० बजे डोरीले बाँधिएको अवस्थामा एउटा सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोलीले आइतबार बिहान उक्त सुटकेस खोल्दाभित्र हत्या गरेर राखिएको अवस्थामा साहको शव भेटिएको हो ।

Advertisement

मृतक साह माधवनारायण नगरपालिका-६, रक्सा टोलका साधु शरण साहका ३५ वर्षीय छोरा शिव सागर साहकी श्रीमती हुन् । उनको माइती पक्ष भारतको बिहार, मुजफ्फरपुरबाट बसाइ सरेर रौतहट आएको थियो । उनका बुबाको नाम राम विनोद साह सुडी हो ।

अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक रुद्र कँडेलले शवको सनाखत भइसकेको पुष्टि गरे । ‘घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ, हामी छिट्टै सत्यतथ्य पत्ता लगाउनेछौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया