अरिंगाल चाख्न बेनी आउने कि ?

समाधान संवाददाता २०८२ भदौ ८ गते १२:३२
अरिङ्गालको गोलाबाट लार्भा निकाल्दै म्याग्दी, ६ भदौः म्याग्दीको बेनीका होटल व्यवसायी ललिन्द्र मगर जङ्गलबाट ल्याएको अरिङ्गालको गोलाबाट लार्भा निकाल्दै । बेनीका होटलहरुमा बर्खायाममा अरिङ्गाल विशेष परिकारको रुपमा बिक्री हुन्छ । प्रतिप्लेट रु छ सयदेखि सात सय ५० का दरले अरिङ्गाल बिक्री हुने व्यवसायीले बताएका छन् । तस्बिरः सन्तोष गौतम÷रासस

म्याग्दी । म्याग्दीमा अरिंगालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिंगालको माग धान्न र पुर्‍याउन हम्मे परेको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ म्याग्दी अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिंगाल हुने गरेको बताए ।

‘स्थानीयमात्र नभएर अरिंगालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउन थालेका छन्,’ उनी भन्छन्, ‘स्वादिलो र तागतिलो हुने भएकाले अरिंगालको उपभोग बढेको छ ।’ थापाको होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिंगाल बिक्री हुन्छ ।
प्रतिप्लेट फ्राई अरिंगालको मूल्य ६ सयदेखि ७ सय ५० रुपैयाँसम्म पर्छ । अग्ला रुखमा चढेर शिकारीले अरिंगालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिंगालको लार्भा शक्तिव्रद्र्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ ।

खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिंगालको गोला बेच्न बेनीमा ल्याउँछन् । सिङ्गा, बरङ्जा, कुहुँको अरिङ्गाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिङ्गाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ ।

Advertisement

गोलासहितको १ किलो अरिंगाल ३ हजारदेखि ३ हजार ५ सयमा बिक्री हुने गरेको अरिंगाल शिकारी तमबहादुर पुनले बताए । अरिंगाल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा १ लाखभन्दा बढी आम्दानी गर्छन् ।

बेनी ६ जामुनाखर्कमा व्यवसायिक रूपमा अरिंगालपालन गरेका अशोक र गीता पाइजा शाहीले माग धान्नै नसकेको सुनाए । गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर १ क्विटल लार्भा बेच्ने लक्ष्य लिएका छन्।

Advertisement

एक गोलाबाट एक पटकमा ८ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक २ महिनामा लार्भा निकाल्न सकिन्छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म व्यापार हुन्छ ।

अरिंगाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन । रुखको टुप्पा, भिरमा हुने अरिंगाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ । अरिंगाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ । अरिंगाल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ ।

रातो र कालो जातका अरिंगाल हुन्छन् । आगोले गोला पोलेर शिकार गर्दा अरिंगाल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ । रासस

तपाईको प्रतिक्रिया