असमको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाली प्राध्यापक न्यौपानेको प्रस्तुति

समाधान संवाददाता २०८२ भदौ ९ गते १७:५१

गुवाहाटी

भारतको असम राज्यमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय लोकसंस्कृति गोष्ठीमा नेपालका लोकसंस्कृतिविद् प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेले आकर्षण प्रस्तुति दिएका छन् । विश्व लोकसंस्कृति दिवसको अवसरमा ‘विश्वव्यापीकरणले परम्परागत ज्ञान प्रणालीमा पारेको प्रभाव’ शीर्षकमा केन्द्रित गोष्ठी आइतबार सम्पन्न भएको हो ।

असमको ओदालगुडी जिल्लामा रहेको कलागुरु विष्णुराभा डिग्री कलेजमा आयोजित गोष्ठीको उद्घाटन असम राज्यका शिक्षामन्त्री डाक्टर रनोज पेगुले गरेका थिए । उद्घाटनका क्रममा उनले भारतीय परम्परागत ज्ञानलाई आधुनिक शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । परम्परागत शिक्षालाई समयानुकूल अद्यावधिक गरे मात्र भारतीय शिक्षा प्रणाली विश्व समुदायमा प्रतिष्ठित हुन सक्ने विचार उनले व्यक्त गरे ।

Advertisement

गोष्ठीमा परम्परागत ज्ञान प्रणाली र यसको संरक्षणसम्बन्धी १५५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्राध्यापक डाक्टर न्यौपानेको सहभागिताले नेपाली लोकसंस्कृति र शैक्षिक अनुसन्धानलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए ।

प्राध्यापक डाक्टर न्यौपानेले गोष्ठीमा बाग्लुङ जिल्लामा बसोबास गर्ने मगर जातिको गोपिचन लोकनाटकमा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यपत्रमार्फत परम्परागत ज्ञान, लोकसाहित्य, मौखिक परम्परा र समकालीन सामाजिक रूपान्तरणबीचको अन्तरसम्बन्धको विश्लेषण गरे । उनले परम्परागत मूल्य र ज्ञान प्रणालीलाई ऐतिहासिक सम्पत्ति मात्र नभएर वर्तमान र भविष्यका लागि मार्गदर्शकका रूपमा हेर्नुपर्ने विचार राखे ।

Advertisement

त्यसैगरी, उनले एउटा प्राज्ञिक सत्रको अध्यक्षता पनि गरे । उक्त सत्रमा विभिन्न देशका विद्वानहरूले प्रस्तुत गरेका शोधपत्रमाथि टिप्पणी गर्दै उनले परम्परागत ज्ञान र आधुनिकताको सहअस्तित्वलाई केन्द्रमा राखेर बहस अघि बढाउनुपर्नेमा जोड दिए ।

भारतीय शैक्षिक मञ्चमा नेपाली विद्वान् प्रमुख अतिथि र वक्ताको रूपमा सहभागी हुँदा नेपालीभाषी असामी लेखक तथा प्राध्यापकहरूले गर्व महसुस गरेको बताएका थिए । फोक्लोर सोसाइटी असमका महासचिव डाक्टर करुणाकान्त काकतीले भने, ‘डाक्टर न्यौपानेको विचार र प्रस्तुति केवल शैक्षिक दृष्टिले मात्र नभई नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने माध्यम बनेको छ । नेपाली लोकसाहित्य, परम्परागत ज्ञान र सांस्कृतिक अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न उनको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो ।’

प्राध्यापक डाक्टर दिलिपकुमार कलिताको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीको समापन सत्रमा प्राध्यापक डाक्टर न्यौपानेलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । समापनमा मन्तव्य दिँदै उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र लोकपरम्परागत एकताको स्मरण गराए । दुवै देशले सहकार्य गरे मात्र लोकसंस्कृतिको संरक्षण र संवर्द्धन सम्भव हुने धारणा उनले राखे । उनले विश्वव्यापीकरणका कारण संस्कृतिको मौलिकता खुम्चिँदै गएको उल्लेख गर्दै यस विरासतलाई जोगाउन राष्ट्रहरूबीच सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिए ।

सोही अवसरमा भारतीय लोकसंस्कृतिमा उल्लेखनीय योगदान पुर्‍याएबापत डाक्टर अनिल सइकियालाई विशेष सम्मान गरिएको थियो । साथै, असमका चर्चित लोकसंस्कृतिविद् मिजिमी हान्से र डाक्टर एकलव्य गामलाई पनि सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया