जलवायु संकटसँग जुध्न देशैभरका पालिका मुस्ताङ जाने

पोखरा ।
नेपालमै सबैभन्दा बढी जलवायु परिवर्तनको असर भोगिरहेको मुस्ताङमा देशभरका स्थानीय तहका प्रमुखहरु जुटेर यसबारे छलफल गर्ने भएका छन् । हिमालमै निर्भर जीवनशैली संकटमा पर्दै गएपछि मुस्ताङका जनप्रतिनिधिले ७ सय ५३ वटै पालिकालाई सहभागी गराई राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् ।
मुस्ताङमा पछिल्ला वर्ष हिउँ नपरेपछि खेतीपाती र पानीका मुहान सुक्दै गएका छन् । जोमसोममा ३५ वर्षयताकै उच्च तापक्रम मापन भएको छ भने लोमाङथाङ जस्ता चिसो क्षेत्रमा समेत अस्वाभाविक गर्मी बढेको छ । स्याउ उत्पादन खस्किँदै गएको छ भने तुवाँलोका कारण हिमालसमेत स्पष्ट देखिँदैन ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेका स्थानीयले अब सामूहिक आवाज उठाउनुपर्ने आवश्यकता देखिएको बताए । ‘मुस्ताङमात्र होइन, सम्पूर्ण नेपालका पालिका जलवायु संकटको चपेटामा छन् । त्यसैले अब एक्लै होइन, सबैतिरका पालिकाले संयुक्त रूपमा न्याय माग्नुपर्ने समय आएको हो,’ उनले भने ।
भदौ ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा हुने सम्मेलनमा सहभागी पालिकाले जलवायु अनुकूलनका कार्यक्रमका लागि बजेट र अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न मागपत्र तयार गर्ने तयारी गरिएको छ । स्थानीय स्तरमा इ–रिक्सा, इन्डक्सन चुलो, फोहोर व्यवस्थापन र जनचेतनामूलक गतिविधि सञ्चालन भए पनि विश्वव्यापी प्रदूषणको भार केवल हिमाली जिल्लाले बोकेको उनीहरूको गुनासो छ ।
‘जलवायु संकटको वास्तविक पीडा हिमालमा बस्नेले भोगिरहेका छन् । तर हाम्रो आवाज संघीय तहमा पुग्दैन । अब देशैभरका पालिका उठेपछि यसले विश्व समुदायसम्म दबाब पुर्याउनेछ,’ लालचनले भने । मुस्ताङमा आयोजना हुने सम्मेलनलाई स्थानीयले जलवायु न्यायका लागि ऐतिहासिक कदमका रूपमा लिएका छन् । उनीहरूका अनुसार ‘नगरेको गल्तीको सजाय’ अब सामूहिक आवाजमार्फत अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बेला आएको छ ।









एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया