थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै

समाधान संवाददाता २०८२ भदौ १४ गते ५:३९

त्रिवेणी (नवलपरासी)
परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपमा रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू संग्रहालयको परिसरमा थारू राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिताले लोपोन्मुख अवस्थामा पुगेको खेलको संरक्षण साथै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्ययन केन्द्रका अध्यक्ष खन्सराम महतोले बताए ।

थारू समुदायको संस्कृति र परम्परासँग जोडिएको भोदी खेल पछिल्ला वर्षमा खेल्ने क्रम घट्दै गएपछि संरक्षणको अभियान स्वरूप प्रतियोगिता आयोजना गरिएको हो । भोदी खेललाई आकर्षक ढंगले नयाँ पुस्तामा परिचित गराउन सकियो भने यो केवल खेल मात्र नभई सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीकका रूपमा स्थापित हुन सक्ने अध्यक्ष महतोले बताए । भोदी खेल थारू समुदायको पुरानो खेलका रूपमा समेत कायम रहने उनले बताए ।

भोदी खेलमा एक समूहमा दस जना खेलाडी सहभागी हुन्छन् । उनीहरूले पालैपालो झटारो हानेर भुइँको खाडलमा राखिएका दसवटा लट्ठी (थारू भाषामा टाँचा) निकाल्ने नियम हुन्छ । खेलअनुसार एउटा समूहलाई निश्चित समय प्रदान गरिन्छ । निर्धारित समयमा सबैभन्दा धेरै लट्ठी खाडलबाट निकाल्ने समूह विजेता बन्ने गर्दछ ।

Advertisement

युवाको सक्रिय सहभागिताले यस परम्परागत खेलको संरक्षण मात्र नभई पुस्तान्तरणमा पनि ठूलो सहयोग पुगेको अध्ययन केन्द्रका उपाध्यक्ष राजकुमार महतोले बताए । शुक्रबार थारू समुदायको परम्परागत तथा मौलिक खेलको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको यो खेल विशेषतः युवा समूहबीच खेलिने परम्परा छ । बलपूर्वक लठ्ठी हान्नुपर्ने भएकाले समेत युवाको सहभागिता आवश्यक पर्ने गर्दछ । थारू अगुवा गणेशमान महतोका अनुसार अनत चतुर्दशी पर्वको अवसरमा यसलाई विशेष महत्वका साथ खेलाइने गरिन्छ । यति बेला यहाँका थारू बस्तीमा भोदी खेलको रौनक छाएको उनले बताए ।

Advertisement

शुक्रबार भएको प्रतियोगितामा जिल्लाका साठीभन्दा धेरै पुरुष तथा महिला समूहको सहभागिता रहेको थियो । यसले समेत थारू समुदायको भोदी खेलको महत्व थप बलियो बनेको उनले बताए ।

अनत पर्वमा गरिने उपवासले आफूले गुमाएको सम्पत्ति फिर्ता गराउन सकिने भन्ने धार्मिक मान्यता रहेको राष्ट्रिय थारू संग्रहालय अध्ययन केन्द्रका सल्लाहकारसमेत रहेका महतोले बताए । द्वापर युगमा कौरव र पाण्डवबीचको द्वन्द्वमा कौरवले छलकपट गरी पाण्डवको श्रीसम्पत्ति हरण गरेपछि पाण्डवले गुमेको सम्पत्ति फिर्ताका लागि अनत पर्वको उपवास गर्ने निधो गरेको र सो क्रममा पर्वमा सबैलाई सहभागी र उत्साहपूर्वक बनाउन भोदी खेल आयोजना गरिएको धार्मिक कथन रहेको उनले बताए । सोही धार्मिक कथनबाट भोदी खेल आएको र अहिले पनि अनत पर्वको अवसरमा धूमधामका साथ खेलिने गरिएको उनले बताए । भोदी खेल थारू समुदायले खेल्ने गरेको मौलिक खेल रहेकाले यसको संरक्षणमा सरकारसमेतले चासो दिनुपर्ने उनले बताए । रासस



तपाईको प्रतिक्रिया