कागबेनी खोलामा बेलिब्रिज

समाधान संवाददाता २०८२ भदौ १५ गते ११:०८

जोमसोम ।
उपल्लो मुस्ताङको कोरला नाका जोड्ने यहाँको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी खोलामा बेलिब्रिज निर्माणसँगै त्यहाँ जाने सवारी साधनलाई आवतजावतमा सहज भएको छ । २ वर्षअघि निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुल खोलाले बगाएपछि कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले कागबेनी खोलामा बेलिब्रिज निर्माण गरेको हो ।


कोरला नाका जोड्ने कागबेनी खोलामा बेलिब्रिज निर्माणका लागि न्यु कालिका वर्कसप बार लगायतले काम गरेका थिए । बेलिब्रिजको दुईतर्फी फाउन्डेसन वालमा १० लाख, बेलिब्रिजका लागि अपुग स्टील पार्टमा १० लाख र बेलिब्रिज जडान कार्यमा १० लाख खर्च भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिए ।


‘कागबेनीमा बेलिब्रिज स्थापनाका लागि फाउन्डेसन वालसहित बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ,’ आयोजनाका सूचना अधिकारी चापागाईले भने, ‘अब २ दिनभित्र बेलिब्रिज जडान कार्य सकिने र दायँबायाँ एप्रोज सडक निर्माण भई यातायातका साधन सञ्चालन हुनेछ ।’

Advertisement


मुस्ताङकोे कागबेनीमा २०७५ देखि निर्माणाधीन पक्की पुलमा २०८० साउन २८ गतेको कागखोलाको बाढीले बगाएर क्षति पुगेको थियो । कोरला सडक अन्तर्गत अधिकांश स्थानमा मोटरेबल पुल बनिसकेको भए पनि कागखोलामा पुल नहुँदा उपल्लो मुस्ताङ र कोरलानाका आउजाउ गर्ने सवारी साधनलाई समस्या परेकाले बेलिब्रिज निर्माणलाई प्राथमिकता दिइएको सूचना अधिकारी चापागाईको भनाइ छ ।


वारागुङ मुक्तिक्षेत्र ४ स्थित कागखोलामा बेलिब्रिज जडानका लागि कोरला सडक अन्तर्गत म्याग्दीको गलेश्वर स्थित राहुघाट खोलामा रहेको बेलिब्रिज स्थान्तरण गरिएको हो । ‘म्याग्दीको राहुघाट खोलामा पहिले बेलिब्रिज थियो, त्यहाँ पक्की पुल बनिसकेकाले उक्त बेलिब्रिज जगेडा थियो,’ चापागाईले भने, ‘हामीले कागेखोलामा तत्कालका लागि बेलिब्रिजको आवश्यकता महसुस ग¥यौं । त्यहाँका बेलिब्रिज उप्काएर यहाँ स्थापना गरेका हौं ।’

Advertisement


कागखोलामा बेलिब्रिज जडानका लागि अलग अलग ठेक्कामार्फत बेलिब्रिज निर्माणको कामअघि बढाइएको हो । आयोजनाले त्यहाँ बेलिब्रिज स्थापना गर्न साउनको दोस्रो साता राहुघाटको जगेडा बेलिब्रिज ढुवानी गरी मुस्ताङ ल्याईपुर्‍याएको थियो । यहाँ फाउन्डेसन पहिल्यै निर्माण गरिएको र बेलिब्रिज जडान भदौ ३ गतेदेखि सुरु गरिएको थियो । साविक क्षतिग्रष्त पक्की पुलको फाउन्डेसन नजिकै तल्लो भागमा बेलिब्रिज फाउन्डेसन निर्माण गरेर बेलिब्रिज स्थापना गरिएको हो ।


जामसोमदेखि कोरला नाकासम्मको १ सय १० किमी सडक खण्ड अन्तर्गत घमी खोलाबाहेक अधिकांश स्थानमा पुल निर्माण बनिसकेका छन् । जलवायु परिवर्तनका कारण कागखोलामा आएको भीषण बाढीले बनिसकेको पुल बगाएपछि बर्खा याममा उपल्लो मुस्ताङ जाने सवारी साधनलाई निकै समस्या हुने गरेको थियो ।


कागखोलामा आयोजनाले बेलिब्रिज निर्माण गरिसकेकाले उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे । ‘यहाँको कागखोलामा बेलिब्रिज जडान भएको छ, अब घमी खोलाको पुल पनि सम्पन्न गर्नेतर्फ जोड दिनुपर्छ’, अध्यक्ष बिष्टले भने, ‘घमीखोलामा पुल बनेपछि कोरला नाकासम्मै बर्खा याममा कुनै समस्या हुँदैन ।’

तपाईको प्रतिक्रिया