एक्याप जोमसोमको बजेट दोब्बर

समाधान संवाददाता २०८२ भदौ १५ गते १६:४८

जोमसोम ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोम, मुस्ताङको चालु वर्षका लागि कार्यक्रम शीर्षकको पुँजीगत बजेट दोब्बरले वृद्धि भएको जनाइएको छ । शुक्रबार यहाँ आयोजित जिल्लास्तरीय पत्रकारहरूसँगको समन्वयात्मक बैठकमा एक्याप जोमसोमले गत वर्षको तुलनामा चालु वर्ष कार्यालयको कार्यक्रम पुँजीगत खर्च १ करोड ५३ लाख ९४ हजार अर्थात् ५२ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

Advertisement


आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा चालु वर्षको बजेट खाका र कार्यक्रमका बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकारसँगको समन्वयात्मक बैठकमा एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले चालु आर्थिक वर्षमा एक्यापको संस्थागत चालु खर्च तथा कार्यक्रमको पुँजिगत खर्च गरी कुल ४ करोड ५४ लाख बजेट विनियोजन भएको जानकारी दिए ।

जसअन्तर्गत चालु वर्षका लागि कार्यालयको संस्थागत चालु खर्च १ करोड ३४ लाख र कार्यक्रम शीर्षकको पुँजीगत बजेट २ करोड ९२ लाख ६० हजार रहेको उनले बताए ।

Advertisement


गत वर्ष एक्याप जोमसोम कार्यालयका लागि ३ करोड १० लाख ९७ हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख गुप्तले उल्लेख गरे । उनका अनुसार गत वर्ष कुल बजेटमध्ये १ करोड ३८ लाख ६६ हजार रुपैयाँ बजेट विभिन्न शीर्षकको कार्यक्रममा विनियोजन भएको थियो । गत वर्ष एक्याप जोमसोमको कार्यप्रगति ९६.१७ प्रतिशत पुगेको उनको भनाइ छ ।


एक्याप जोमसोमका अनुसार चालु आर्थिक वर्षमा प्रजाति संरक्षणतर्फ ४६ लाख एक हजार ५ सय, संरक्षित क्षेत्र र पारिस्थितिक प्रणालीतर्फ ७९ लाख ३४ हजार २७९, संरक्षण अर्थशास्त्रतर्फ ९६ लाख ५१ हजार, जलवायु परिवर्तनतर्फ ४७ लाख ४० हजार, शिक्षा अनुसन्धान तथा ज्ञान व्यवस्थापनतर्फ १७ लाख ३१ हजार ५ सय र विविधतर्फको सुशासन तथा लैंगिक लगायततर्फ ६ लाख २ हजार बजेट विनियोजन भएको हो ।

Advertisement

एक्याप जोमसोम कार्यालयका लागि कुल बजेटमध्ये ६५ प्रतिशत कार्यक्रम र ३५ प्रतिशत बजेट संस्थागत चालु खर्चतर्फ विनियोजन भएको कार्यालय प्रमुख गुप्तले पत्रकारहरूलाई जानकारी दिए ।


यहाँ एक्याप कार्यालयका लागि विनियोजन भएको ६ वटा शीर्षकमा कार्यक्रम तय भएको छ । एक्याप जोमसोमका अनुसार यहाँ प्रजाति संरक्षणतर्फ ६ वटा कार्यक्रम, संरक्षण क्षेत्र र पारिस्थितिक प्रणालीतर्फ ७ वटा, संरक्षण अर्थशास्त्रतर्फ ८ वटा, जलवायु परिवर्तनतर्फ ५ वटा, शिक्षा अनुसन्धान तथा ज्ञान व्यवस्थापनतर्फ १० वटा र विविध सुशासन तथा लैंगिक लगायतमा सार्वजनिक सुनुवाइ र महिला लक्षित कार्यक्रम सञ्चालन हुनेछन् । कार्यालय प्रमुख गुप्तले विभिन्न ६ शीर्षकका थुप्रै उपशीर्षकका कार्यक्रमहरू चालु वर्ष सञ्चालन हुने बताए ।


पत्रकार समन्वयात्मक बैठकमा कार्यालय प्रमुख गुप्तले यहाँ एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत यहाँको जैविक विविधता, पर्यटन प्रवर्धन र विकास र स्थानीयको जीविकोपार्जन सुधारमा जोड दिएको बताए । यहाँका ९ वटा संरक्षण व्यवस्थापन समिति मार्फत सबै कार्यक्रम कार्यान्वयनमा लैजाने उनले बताए ।


एक्यापले चालु वर्ष यहाँको फोहोरमैला व्यवस्थापनका लागि ३२ लाख ५० हजार बजेट विनियोजन गरेको जनाएको छ । यहाँको तीन स्थानमा फोहोर संकलन केन्द्र स्थापनाका लागि ६ लाख, थासाङको कुञ्जोमा फलामे डस्मिन राख्न एक लाख, फोहोरमैला ढुवानीमा तीन लाख, लेते आमा समूहको लागि फोहोर व्यवस्थापन सामग्री खरिद पाँच लाख र कागबेनीमा फोहोर राख्ने बोरा खरिदमा दुई लाख पचास हजार बजेट विनियोजन गरिएको छ ।


एक्याप जोमसोमले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न ८ स्थानमा फोहोर संकलन केन्द्र स्थापना गरेको थियो । गत वर्ष फोहोर संकलन केन्द्रमा जम्मा भएका १० टन फोहोर ट्रक मार्फत ढुवानी गरी पोखरा स्थित ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रशोधन केन्द्रमा पठाइएको थियो । एक्यापले यहाँ जलवायु परिवर्तन न्यूनीकरणका लागि फोहोरमैला व्यवस्थापन, प्राकृतिक स्रोतहरूको संरक्षण, पर्यटन प्रवर्धन, जैविक विविधता, शिक्षा, कृषि र वातावरण संरक्षणमा जोड दिँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया