दशैँमा मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्यांग्रा निकासी हुने अनुमान

मुस्ताङ । यो दशैँमा मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्यांग्रा निकासी हुने भएको छ। चाडपर्वका लागि आवश्यक मासुको माग धान्न तिब्बतबाट आउनेबाहेक मुस्ताङमै पालिएका साढे ११ हजार च्यांग्रा र करिब ६ सय भेडा बजारमा आउने अनुमान छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमका अनुसार, उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका र तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सबैभन्दा धेरै च्यांग्रा निकासी हुनेछन्।
जिल्लाभर १९ हजार च्यांग्रा रहेकोमा, दशैँका लागि बिक्री गर्न पशुपालक कृषकहरूले ११ हजारको हाराहारीमा च्यांग्रा तयारी अवस्थामा राखेका छन्। ‘चरनक्षेत्र र गोठालाको अभावले कृषकलाई समस्या भएको छ, नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादनलाई प्रोत्साहन गरेका छौँ,’ एकाइ प्रमुख गौतमले भने। उनका अनुसार, जिल्लाभर सूचीकृत सय कृषकको गोठमा ५६ हजार च्यांग्रा छन्।
तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका गैर-सूचीकृत कृषकहरूले पनि भेडाच्यांग्रा निकासी गर्छन्। एकाइ प्रमुख गौतमको भनाइ अनुसार, एउटा च्यांग्रालाई गोठमै बिक्री योग्य बनाउन प्रति किलो १,१९२ रुपैयाँ खर्च हुन्छ। खर्कमा घाँस र गोठालाको अभावले गर्दा लो-घेकर दामोदरकुण्ड, लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा मागअनुसार भेडाच्यांग्रा उत्पादन हुन सकेको छैन।
भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालका अनुसार, मुस्ताङमा ५ हजार ५ सय भेडा रहेकोमा दशैँका लागि ६ सय भेडा बिक्रीका लागि तयारी अवस्थामा छन्। ‘तिब्बतबाट पनि भेडाच्यांग्रा आउँछन्, मुस्ताङबाट बाहिरिने सबै भेडा तथा च्यांग्राको जोमसोम र घाँसामा स्वास्थ्य परीक्षण गरेर पठाउँछौँ,’ केन्द्र प्रमुख अर्यालले बताए। तिब्बतबाट आयात हुने भेडाच्यांग्रासहित मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेको संख्याले पनि बजारको माग धान्न सक्दैन।
भेडाच्यांग्राको माग उच्च भएपछि कृषक र बिचका व्यापारीहरूले मूल्य बढाउने गरेका छन्। यस वर्ष रोज्जा च्यांग्राको मूल्य मुस्ताङमै ३५ हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ। म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीहरूले गोठमै नगद दिएर भेडाच्यांग्रा खरिद गर्छन्।
तीजलगत्तै व्यापारीहरू मुस्ताङका भेडाच्यांग्राको गोठमा पुग्न थालेका थिए। व्यापारी नारायण सापकोटाका अनुसार, उच्च हिमाली भेगमा पालिएका भेडाच्यांग्राले जडीबुटी खाएर हुर्केकाले तिनीहरूको मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी मानिन्छ। यसैले दशैँ–तिहार जस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडाच्यांग्राको माग बढी हुने गरेको छ। सामान्यतः एउटा भेडाच्यांग्रा जन्मेको दुई-तीन वर्षपछि बेच्न लायक हुन्छ।







५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
तारकाङमा डेंगी अभिमुखीकरण
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया