गण्डकी र लुम्बिनीको समन्वयात्मक बैठक

दुवै प्रदेशले साझा विकास योजनालाई प्राथमिकता दिने प्रतिवद्धता

समाधान संवाददाता २०८२ भदौ १६ गते १४:५७

पोखरा ।
गण्डकी र लुम्बिनी प्रदेश सरकारबीचको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक स्याङ्जाको मालुङास्थित उत्तरबाहिनी क्षेत्रमा सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा भएको सो बैठकमा दुवै प्रदेशले साझा विकास योजनालाई प्राथमिकता दिँदै प्रतिवद्धता व्यक्त गरेका छन् ।

बैठकमा यसअघि २०८१ साल माघ ३० गते लुम्बिनी प्रदेशको आयोजनामा पाल्पाको रानीमहलमा सम्पन्न पहिलो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठकमा गरिएका २१ बुँदे सहमतिको समीक्षा गरिएको छ । ती प्रतिवद्धतालाई थप प्रभावकारी बनाउन दुवै प्रदेशका योजना आयोगलाई तीन महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

बैठकमा दुवै प्रदेशका साझा निर्णय र प्रतिवद्धता सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्न र बाँकी विषयलाई प्राथमिकता दिँदै कार्यान्वयनको व्यवस्था मिलाउन दुवै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलाई जिम्मेवारी तोकिएको छ । साथै नेपाल सरकारसँग नियमित समन्वय गर्ने प्रतिवद्धतासमेत बैठकले गरेको छ ।

Advertisement

धार्मिक पर्यटन प्रवर्द्धनका लागि दुवै प्रदेशका पर्यटन मन्त्रालयको सहकार्यमा ‘दामोदरकुण्ड कृष्णागण्डकी उत्तरवाहिनी–लुम्बिनी मुक्तिमार्ग’ विकासका लागि अवधारणा पत्र तयार गर्ने प्रक्रिया अघि बढाइने भएको छ । यस्तै, दुवै प्रदेशका आवधिक योजनामा समावेश गरिएका रुपान्तरणकारी आयोजना तथा अन्तर प्रदेश साझेदारीका कार्यक्रम कार्यान्वयनका लागि विषयगत मन्त्रालयलाई कार्यान्वयन खाका तयार गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि संयुक्त रूपमा कार्यान्वयन गर्न सकिने कार्यक्रम पहिचान गरी आगामी पुस मसान्तभित्र दुवै प्रदेशका सरकारले पेस गर्ने सहमति भएको छ । यसैगरी, यही असोज २१ देखि कात्तिक १९ गतेसम्म उत्तरवाहिनी क्षेत्रमा हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेश सरकारको सहजीकरण रहनेछ । स्थानीय तहमा सहजीकरणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

Advertisement

बैठकले विकास व्यवस्थापन तथा सेवा प्रवाहमा सिकाइ र असल अभ्यासको आदानप्रदान गर्न प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, कानूनी र नीतिगत एकरुपता कायम गर्दै जाने, र दुवै प्रदेशका प्रमुख तीर्थस्थल तथा पर्यटकीय स्थललाई जोड्ने पदमार्ग निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन संयुक्त रूपमा तयार गर्ने विषयमा पनि सहमति जनाएको छ ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित दुवै प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो ।

यसअघि भएको पहिलो बैठकमा संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेट्ने गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति भएको थियो । सो परियोजना नमूना विकास अभियानका रूपमा सार्वजनिक निजी साझेदारीमार्फत अघि बढाउने गरी संघीय सरकारले गत आर्थिक वर्षको बजेटमा २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

संविधानको धारा ५६ र २३२ अनुसार तीन तहका सरकारबीचको समन्वय, सहकार्य र सह-अस्तित्वको मर्मलाई आत्मसात् गर्दै गरिएको यो बैठकले अन्तर प्रदेश सहकार्यलाई संस्थागत गर्दै प्रदेशको साझा विकासलाई गति दिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया