गण्डकीमा भौतिक पूर्वाधार र यातायातमा उल्लेख्य प्रगति, मन्त्रीद्वारा सदनमा जवाफ

समाधान संवाददाता २०८२ भदौ १६ गते १८:२२

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीले प्रदेश सभामा शून्य समय र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै आफ्नो एक वर्षे कार्यकालमा मन्त्रालयले भौतिक पूर्वाधार र यातायात क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताएका छन्। उनले गत आर्थिक वर्षमा मन्त्रालयको समग्र भौतिक प्रगति विगत ४ वर्ष यताकै उच्च ७९.९१ प्रतिशत र वित्तीय प्रगति ७६.५२ प्रतिशत पुगेको जानकारी दिए। मन्त्रीले मिति २०८१ साउन १७ गतेदेखि २०८२ साउन १६ गतेसम्मको आफ्नो कार्यकालमा भएका मुख्य कामहरूको विवरण सदनलाई दिएका हुन्।

मन्त्रीले प्रदेश सभा सदस्यहरूले उठाएका विभिन्न जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै पुम्दी भुम्दी फेदीखोला सडकको मर्मत कार्य सम्पन्न भए पनि निर्माण व्यवसायीले अन्तिम बिलको भुक्तानी नलिएकाले ठेक्का चालु अवस्थामै रहेको बताए। उनले निर्माण व्यवसायीलाई नियमानुसार मर्मत कार्य सम्पन्न गर्न र कार्यालय प्रमुखलाई अनुगमन गर्न निर्देशन दिएको जानकारी दिए। यस्तै, कुस्मीसेरा बरेङ शान्तिपुर सडक निर्माणमा ढिलासुस्ती भएको स्वीकार गर्दै मन्त्रालयले निर्माण व्यवसायीलाई तत्काल काम अगाडि बढाउन निर्देशन दिएको बताए। वर्षायाममा यातायात सुचारु राख्न पहिरो पन्छाउने काम भएको र गत आर्थिक वर्षमा न्यून रकम विनियोजन भएकाले ढिलासुस्ती भएको स्वीकार गर्दै यस आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको उनले स्पष्ट पारे।

बहुवर्षीय योजनाहरूमा बजेट अभावको समस्या समाधान गर्न पहिलो चौमासिकमै २० लाख रुपैयाँभन्दा माथिका सालबसाली योजनाहरू ठेक्का प्रक्रियामा लैजान मन्त्रालयबाट पत्राचार गरिएको मन्त्रीले बताए। यसबाट २ अर्ब ३५ करोड ९३ लाख ८१ हजार रुपैयाँ बचत भई बहुवर्षीय योजनाहरूमा रकमान्तर गरिएको र यसले बजेट अभावको समस्या केही हदसम्म समाधान भएको उनले जानकारी दिए। बाँकी कार्य सम्पन्न भएपछि आगामी वर्षमा भुक्तानी हुने पनि उनले बताए।

Advertisement

स्याङ्जा जिल्लामा सञ्चालनमा रहेका ट्याम्पोहरूले जनतालाई सुविधा पुर्‍याएको उल्लेख गर्दै मन्त्रीले स्थानीय तहबाट रुट अनुमति प्राप्त गर्न सक्ने कानुनी प्रावधान रहेको र सोहीअनुसार सञ्चालनमा रहेको बताए। दर्ता नभई सञ्चालन भएको पाइएमा कानुनी कारबाही गरिने चेतावनी पनि उनले दिए। गोरखाको उत्तरी भेग जोड्ने लामबारी घाचोक लाम्दी खोला पुलको निर्माण कार्य ढिला भएको भन्ने विषयमा बुझ्दा यो सडक पुल मन्त्रालयको कार्यक्षेत्रमा नपरेको जानकारी प्राप्त भएको मन्त्रीले सदनलाई अवगत गराए।

गत वर्ष बहुवर्षीय योजनाहरूमा जम्मा २९ प्रतिशत मात्र रकम विनियोजन भएकाले योजनाहरू समयमा सम्पन्न हुन नसकेको स्वीकार गर्दै मन्त्रीले आगामी आर्थिक वर्ष २०८२/८३ मा करिब ६५ प्रतिशत रकम बहुवर्षीय योजनाहरूलाई प्राथमिकतामा राखी विनियोजन गरिएकोले निर्माण कार्यहरू यस वर्ष छिटो हुने विश्वास व्यक्त गरे। सालबसाली योजनाहरूमा करिब ३५ प्रतिशत रकम विनियोजन भएको पनि उनले जानकारी दिए। बाढीपहिरोबाट क्षति हुने अनुमान अनुसार सबै निकाय र कार्यालयहरूलाई पूर्वतयारीमा रहन निर्देशन दिएको उनले बताए। प्रदेश सरकारबाट निर्माण भएका सडकहरूको मर्मतका लागि व्यवस्था मिलाइएको भए पनि यस आर्थिक वर्षमा गत वर्षभन्दा ५० प्रतिशत कम बजेट मर्मत सम्भारमा रहेको जानकारी उनले दिए।

Advertisement

पर्यटकीय क्षेत्रका सडकहरू र ढल निकासका सम्बन्धमा प्रदेश सभा सदस्यहरूसँग छलफल भई स्थानीय निकायहरूसँग समन्वय गरी कार्य अगाडि बढाउन यस वर्ष प्रदेश सरकारले बजेटको व्यवस्था मिलाएको र यस्ता योजनाहरू कार्यान्वयनका लागि ताकेता गरी छिटो निर्माण गरिने मन्त्रीले बताए। तनहुँ जिल्ला घिरिङ गाउँपालिकामा रहेको कृष्ण मार्गको बारेमा पूर्वाधार विकास कार्यालय, तनहुँसँग बुझ्दा उच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि प्रक्रिया अगाडि बढ्ने जानकारी प्राप्त भएको मन्त्रीले सदनलाई जानकारी गराए। यस वर्षको बजेटमा अधिकांश योजनाहरू सम्बोधन गरिएको र सम्बोधन नभएका तथा छुट हुन गएका सबै योजनाहरू आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने मन्त्रीले प्रतिबद्धता व्यक्त गरे।

मन्त्रीले आफ्नो कार्यकालमा भएको कामको विवरण सहितको पुस्तिका सभाहलको पिजनहोलमा राखिदिन अनुरोध गरी प्रदेश सभा सचिवालयमा पठाएको र उक्त पुस्तिका अध्ययन गरी सुझाव दिनुहुन सभामुखमार्फत अनुरोध गरे। उनले मन्त्रालयको विषयभित्र पर्ने शून्य समय र विशेष समयमा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जिज्ञासा निरुपण गर्ने प्रयास गरेको र कुनै विषय छुट हुन गएको भए यसपछिको जवाफमा समेट्ने प्रतिबद्धता व्यक्त गरे। उनले सभा नचलेको समयमा पनि गुनासो भए आफूलाई अथवा आफ्नो सचिवालयमा जुनसुकै समयमा पनि सम्पर्क गर्न सकिने र समस्या समाधानका लागि मन्त्रालय मातहतका सबै निकायहरूलाई निर्देशन दिई सकिएको जानकारी दिए।

मन्त्रीले आफ्नो एक वर्षे कार्यकालमा भएका मुख्य उपलब्धिहरू पनि सदनलाई बताए। सडक तर्फ आर्थिक वर्ष २०८१/०८२ सम्म जम्मा २३१ वटा बहुवर्षीय योजनाहरू क्रमागत रूपमा सञ्चालन रहेकोमा ४५ वटा बहुवर्षीय सडकका योजनाहरू सम्पन्न भएका छन्। आर्थिक वर्ष २०८१/०८२ मा २४५.८८ किलोमिटर प्रादेशिक सडकको कालोपत्रे/पक्की सडक निर्माण कार्य, ६६.७३ किलोमिटर सडक चौडा बनाउने र ग्राभेलस्तरमा स्तरोन्नति गर्ने कार्य र २९३.६९ किलोमिटर कच्ची सडक नियमित मर्मत सम्भार कार्य भएको छ। सडक पुल तर्फ जम्मा ६९ वटा बहुवर्षीय योजनाहरू क्रमागत रूपमा सञ्चालनमा रहेकामध्ये १५ वटा योजनाहरू सम्पन्न भएको अवस्था छ। झोलुङ्गे पुल तर्फ जम्मा १७ वटा बहुवर्षीय योजनाहरू सञ्चालनमा रहेकामा ४ वटा झोलुङ्गे पुलका योजनाहरू सम्पन्न भएको अवस्था छ। भवन तर्फ जम्मा ४ वटा बहुवर्षीय योजनाहरू सञ्चालनमा रहेकामध्ये १ वटा योजना सम्पन्न भएको अवस्था छ। गण्डकी प्रदेशको अत्यन्त महत्वपूर्ण प्रदेश सभा भवन योजनाको ठेक्का सम्झौता भई २०८२ भदौ ३ गते शिलान्यास भई निर्माण कार्य द्रुत रूपमा सञ्चालन भएको छ।

त्यस्तै यातायात तर्फ राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ जारी भएको छ। केही समयभित्रै कार्यान्वयनमा जाने कुरा उनले सदनमा जानकारी दिए। आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नयाँ जारी हुने सवारी चालक अनुमतिपत्र प्रदेशबाट नै छपाई गर्ने गरी आवश्यक बजेट विनियोजन भएको र सवारी कर तथा सवारी दर्ता किताब नवीकरणलाई अनलाइन माध्यमबाट गर्ने प्रबन्ध मिलाउन सोको लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ। सवारी साधन ट्रायलमा भएको सिन्डिकेट हटाई आ-आफ्नो सवारी साधनबाट ट्रायल दिन पाउने व्यवस्था मिलाइएको छ। साथै सवारी चालक अनुमति पत्रको नतिजा १० दिनभित्र गर्नेमा २ दिनभित्र गर्ने निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया