गैसस महासंघ गण्डकीमा पदम पहारी

समाधान संवाददाता २०८२ भदौ १६ गते २०:४९

पोखरा । गैर सरकारी संस्था (गैसस)महासंघ नेपाल गण्डकी प्रदेश पोखराको सातौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सोमबार भएको छ । प्रादेशिक नागरिक सम्मेलन सहित भएको अधिवेशनबाट अध्यक्ष पदमराज पहारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्ष बद्रीनाथ नेपाल, सचिव नारायण पौडेल, उपसचिव रमेश रिजाल र कोषाध्यक्ष अमृता थापा निर्वाचित भएका छन् । कार्य समितिको वरिष्ठ सदस्यमा तारा थापा (खण्डलुक मगर) सदस्यमा डा बुद्धिबहादुर थापा, सीताराम श्रेष्ठ, गोविन्द शर्मा, कमला पराजुली र निरमाया मिजार निर्विरोध भएको निर्वाचन समितिका संयोजक भुवन पराजुलीले जानकारी दिइन् ।

Advertisement

अधिवेशनमा महासंघ गण्डकीका निवर्तमान अध्यक्ष तथा ईञ्चार्ज गोपाल खड्काले आफ्नो र श्रीमती सावित्री थापाको संयुक्त नामबाट १ लाखको ‘सावित्री–गोपाल सामाजिक अभियान अक्षयकोष खडा गरेका छन् । ‘दिगो विकास र समृद्ध स्थानीय तह निर्माणका लागि नागरिक संगठनको एक्यबद्धता, विकासको साझा सवालहरुमा समन्वय, सहकार्य र साझेदारी गर्न हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ भएको अधिवेशनको गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले उद्घाटन गरे । उनले नागरिक तथा सामाजिक अभियानलाई बलियो बनाउन सरोकारवाला सबैलाई जोड्न पर्ने बताए । उनले सामाजिक अभियानमा युवा पुस्तालाई समेत समेट्न लागेको जानकारी दिए । ‘नागरिक संस्थालाई सञ्जाल बनाएर सामाजिक अभियानलाई सुदृढ बनाउन आवश्यक छ,’उनले भने, ‘सञ्जाललाई देशव्यापी रुपमा पालिका स्तरमा विस्तार गर्ने हो ।’ उनले संघीय सरकारको गृह मन्त्रालयले जारी गरेको संघ संस्था ऐन २०८०को मस्यौदा संघ संस्था मैत्री नभएको आरोप लगाए ।

समारोहमा गैसस महासंघ नेपालका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, केन्द्रीय महासचिव देवी खड्का, सचिव राजेन्द्र पौडेल, केन्द्रीय सल्लाहकारहरु भीमप्रसाद शर्मा र विना सिलवाल, केन्द्रीय सदस्यहरु शिवप्रसाद शर्मा र विजयकुमार प्रधान, गण्डकी प्रदेशका इञ्चार्ज गोपाल खड्का, गण्डकीका अध्यक्ष पहारी लगायतले सामाजिक संघ संस्थाको भूमिका बारे बोलेका थिए । सभाले सवि शिवप्रसाद शर्माले पेश गरेको प्रदेशको सांगठनिक तथा प्रगति प्रतिवेदन २०८२, कोषाध्यक्ष मुक्तिप्रसाद ढुंगानाले प्रस्तुत गरेको प्रदेशको आर्थिक प्रतिवेदन र अध्यक्ष पहारीले पेश गरेको आर्थिक वर्ष २०८२ / ०८३को प्रस्तावित कार्यक्रम तथा बजेटलाई सुधार सहित पारित गरेको छ । कार्यक्रममा प्रदेश स्तरीय नागरिक श्रोत केन्द्र तथा प्रदेश कार्यालय भवन निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया