सामुदायिक सेवा केन्द्र पृथ्वीचोकमा कुमारी मुना

समाधान संवाददाता २०८२ भदौ १६ गते २०:५३

पोखरा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकको २५ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष कुमारीमुना बास्तोलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको निवर्तमान अध्यक्ष कमलबहादुर श्रेष्ठ, उपाध्यक्ष उत्तम जोशी, सचिव तीर्थ शर्मा ढकाल, सहसचिव गीता भण्डारी, कोषाध्यक्ष केशवप्रसाद ढकाल निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यमा गौरी पौडेल चालिसे, सुनिता केसी खड्का, रुपा केसी, विमला परियार, शोभा पहारी सुवेदी, दीपकराज सिग्देल, शान्ति सिग्देल, सीता अधिकारी र जीतबहादुर मोक्तान रहेको निर्वाचन समितिका संयोजक सुरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सामाजिक अभियन्ता राधा कुँवरलाई ११ हजार १ सय ११ नगद सहित सामुदायिक वर्ष सेवा पुरस्कार प्रदान गरिएको छ । कक्षा १२को परीक्षामा सर्वोत्कृष्ट अंकित आचार्यलाई सम्मान गरियो ।

गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अधिवेशनको उद्घाटन गर्दै समुदायकै सक्रियता, एकता र साझेदारीबाट मात्र सुरक्षित, सभ्य र अनुशासित समाज निर्माण सम्भव हुने बताए । संस्था प्रहरी र समुदायबीचको विश्वास र सहकार्यलाई अझ मजबुत बनाउन निरन्तर लागिरहेको जानकारी दिदै उनले प्रदेश सरकार सभ्य समाज निर्माणको अभियान साथमा रहेको चर्चा गरे ।

Advertisement

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सामुदायिक सेवा केन्द्रले गर्ने काम र क्रियाकलाप अरु संस्थाको भन्दा फरकपन रहेको बताए । उनले नेपाल प्रहरीले सेवा केन्द्रका सहकार्यमा धेरै कार्यक्रम गरेको जनाए ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले अपराध रोकथाम र शान्ति सुरक्षा नेपाल प्रहरीको मुख्य काम भएको उल्लेख गरे । उनले स्थानीय समुदायसँगको सहकार्य विना अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गरी समुन्नत समाज निर्माण गर्न नसकिने तर्क गरे ।

Advertisement

कार्यक्रममा पोखरा १५का अध्यक्ष तोरणबहादुर बानियाँ, महानगरका कार्यपालिकाका सदस्य गोपी तुलाचन, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली, पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठ, केन्द्रका निवर्तमान अध्यक्ष कमलबहादुर श्रेष्ठ, लेखनाथका अध्यक्ष गंगा खनाल, अधिवक्ता टंकप्रसाद पौडेल लगायतले बोलेका थिए । सभाले सचिव उत्तम जोशीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष तीर्थ शर्मा ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको छ ।

‘विकृति विसंगति रहित समाजको निर्माण, सामुदायिक सेवा केन्द्रको अभियान’ भन्ने नाराका साथ क्रियाशील सामुदायिक सेवा केन्द्रको कार्यक्षेत्र पोखरा महानगरपालिका वडा नं. ८,९,१० र १५ रहेको छ ।

तपाईको प्रतिक्रिया