वालिङका तेजप्रसाद काफ्लेलाई ‘नानी–शुक स्मृति शिक्षा पुरस्कार–२०८२’

पोखरा। नानी–शुक स्मृति प्रतिष्ठान, पोखराले यस वर्षको ‘नानी–शुक स्मृति शिक्षा पुरस्कार–२०८२’ स्याङ्जाका शिक्षाप्रेमी तथा समाजसेवी तेजप्रसाद काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको छ।
गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई शिक्षा र समाजसेवामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक २ वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ। पुरस्कारको राशि नगद २५ हजार ५२५ रुपैयाँ र ताम्रपत्र रहेको छ। शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनको परिवारले विसं २०६२ सालमा ९ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट पुरस्कार दिने व्यवस्था मिलाएको हो।
पुरस्कार विजेता छनोटका लागि प्रतिष्ठानका उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, आजीवन सदस्यहरू पुण्यबहादुर हिराचन, दीर्घसिंह लालचन, ज्ञानेन्द्रकुमार लालचन, पूर्णबहादुर हिराचन र संरक्षक वीरेन्द्र हिराचन सम्मिलित ६ सदस्यीय समिति गठन गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष तारानाथ गौतम ‘पाखे’ को अध्यक्षतामा बसेको बैठकले समितिको सिफारिस अनुमोदन गरेको हो। वालिङ–२ निवासी ८१ वर्षीय काफ्ले वालिङ बहुमुखी क्याम्पसका संस्थापक तथा पूर्व क्याम्पस प्रमुख हुन्। उनी भागवत तथा पुराण वाचनसमेत गर्छन्।
प्रतिष्ठानको असोज १ गते हुने २१औँ वार्षिकोत्सव तथा सम्मान समारोहमा काफ्लेलाई उक्त पुरस्कार अर्पण गरिने प्रतिष्ठानका सचिव मखनलाल हिराचनले जानकारी दिए।
यसअघि, भक्ति हिराचन (मुस्ताङ), अनन्तनाथ पौडेल (कास्की), पद्मराज कोइराला (कास्की), दिव्य रमण अर्याल (तनहुँ), पद्मसिं विश्वकर्मा (बागलुङ), कृष्णप्रसाद पौडेल (अर्घाखाँची), पूर्णभद्र नेउपाने (लमजुङ), लोकनाथ आचार्य (पर्वत) र नैनकुमार श्रेष्ठ (म्याग्दी) यस पुरस्कारबाट सम्मानित भइसकेका छन्।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया