प्रेरणा बन्दै उज्ज्वल सागर

नेपाली संगीत उद्योगमा केही कलाकार यस्ता हुन्छन्, जसले आफ्नो प्रतिभामात्र होइन, जीवनका चुनौतीहरू पार गर्दै जनमानसमा गहिरो प्रभाव छाडेका छन् । त्यस्तै एक नाम हो, उज्ज्वल सागर । दृष्टिविहीन जन्मिए पनि आज उनी नेपाली संगीतमा ‘द्रष्टा’ कलाकारको रुपमा चिनिँदै छन् ।
उज्ज्वल सागर, जसको वास्तविक नाम हो सागर अधिकारी । उनको जन्म २०५५ सालमा झापाको बिर्तामोडनजिकै भएको थियो । सानै उमेरदेखि संगीतमा रुचि राख्ने उज्ज्वलले ४ वर्षको उमेरमै हार्मोनियम बजाउन थालेका थिए । शिक्षक, बाबुआमाले दिएको प्रेरणा र क्यासेट प्लेयरले उनलाई संगीतको संसारमा पुर्यायो । संगीतप्रतिको गहिरो मोह राख्ने सागर दृष्टिविहीन भए पनि सांगीतिक यात्रा विचलित भएका छैनन् ।
झापाको सरस्वती माध्यमिक विद्यालय र दुर्गा मावि हुँदै महेन्द्ररत्न स्कुलसम्मको यात्रा उनले औपचारिक अध्ययनसँगै संगीतको तालिममा बिताएको सुनाए । अनिल फागोबाट तालिम लिएका उज्ज्वलले प्रयाग संगीत समिति, इलाहाबाद (भारत)बाट परीक्षा पनि दिए । ‘सानै उमेरदेखि नै विभिन्न विद्यालयस्तरीय प्रतियोगितामा सहभागी भएर थुप्रै पुरस्कार जितेको छु, सन् २०१५ मा काठमाडौं आएर संगीत क्षेत्रमा पूर्णकालीन रुपमा यात्राअघि बढिरहेको छ,’ उनले भने ।
गीत कम्पोज गर्ने, गाउने र प्रविधिको सहयोगले संगीत उत्पादन गर्न आफैं सिकेको उनको भनाइ छ । उनी टकब्याक सपोर्ट भएको भ्वाइस ओेभर सफ्टवेयर प्रयोग गरी प्रोफेसनल डिजिटल टुलमार्फत आफ्ना गीत तयार पार्ने गर्छन् । भन्छन्, ‘सुरुवातमा केही अन्योल भए पनि प्रविधि र निरन्तर अभ्यासले आत्मनिर्भर बनाएको छ । गीत लेखनमा रोशन दाइले सहयोग गर्नुहुन्छ ।’ उनका गीतहरु युट्युब, स्पोटिफाइ, आइट्युन्स जस्ता विश्वव्यापी प्लेटफर्ममा उपलब्ध छन् ।
जन्मिदा दृष्टिविहीन रहेका उज्ज्वल सागर आफ्नै संघर्षले नेपाली संगीतमा स्थापित भएका छन् । उनी असाेज ३ गते पोखराको रोलिङ स्टोनमा आउँदै छन् ।
संगीत यात्रा र सफलता
२०१९ मा ‘धुन’ नामक गीतबाट औपचारिक संगीत यात्रा सुरु गरेका उज्ज्वलले हालसम्म २० भन्दा बढी एकल गीत, केही चलचित्रमा संगीत र ३० भन्दा बढी कलाकारहरूसँग सहकार्य गरिसकेका छन् । ‘सुन न तिमी खुसी त छौ नि’, ‘सुनाखरी’, ‘मिर्मिरे’, ‘मैली’, ‘सन्नाटा’, ‘डाइलो’ लगायत गीतले दर्शक, स्रोताको मन जितेका छन् ।
उज्ज्वलले रामकृष्ण ढकाल, नवराज पराजुली, निशान भट्टराई, विद्या तिवारी जस्ता कलाकारसँग सहकार्य गरेका छन् । उनले लेखक वसन्त बस्नेतको पुस्तक ‘सिमसार’को शीर्ष गीत पनि कम्पोज गरेका छन् ।
उनको जीवनलाई समेटिएको डकुमेन्ट्री ‘हेर्ने कथा’मा पनि समावेश गरिएको छ । उनले त्यसका लागि जिंगल गीत पनि तयार गरेका छन् । आर्टमन्डु जस्ता नाम चलेका प्रोडक्सनसँग सहकार्य गर्नुका साथै, ‘सानो संसार’ र ‘हात्ती छाप’ जस्ता चलचित्रमा पनि उनी संलग्न भए ।
प्रत्यक्ष प्रस्तुति र संगीत टोली
२०७९ मा ललितपुरमा आयोजना गरिएको पहिलो प्रत्यक्ष संगीत कार्यक्रममा ३ सयभन्दा बढी दर्शकको उपस्थिति थियो । उज्ज्वलले पोखरामा लिटरेचर फेस्टिभलमा संगीत प्रस्तुत गरेका थिए । जुन अवसरलाई उनले स्मरणीय अनुभव मानेका छन् ।
उनको ब्यान्डका सदस्यमा गिटारमा नरेन मोक्तान, बास गिटारमा जय लामा, ड्रममा रिदम बोगटी, बासुरीमा रुपेश शाक्य, किबोर्डमा विश्व अधिकारी, तबलामा आयुष ढकाल, साउन्ड इन्जिनियरमा सबिन शाक्य र व्यवस्थापनमा सरोज कुमार खड्का छन् ।
आगामी योजनामा उनले केही चलचित्र प्रोजेक्टमा काम गरिरहेका छन् भने अन्तर्राष्ट्रिय टुर र सहकार्यको सपना रहेको सुनाउँछन् । ‘नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने चाहना छ । म विश्वास गर्छु, मन छ भने बाटो आफैं बन्ने गर्छ,’ उनले भने ।
असाेज ३ गते पोखराको रोलिङ स्टोनमा दोस्रो प्रस्तुति दिने तयारीमा रहेको उनले जानकारी दिए । पोखरामा दर्शकसँग प्रत्यक्ष भेटेर प्रस्तुति दिनका लागि उज्ज्वल उत्साही छन् । त्यसका लागि उनी अहिले तयारी गर्दै छन् ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया