पातले छाँगो ठेक्का विवाद झनै चर्कियो, खुकुरी प्रहारपछि विथोलियो सार्वजनिक सुनुवाइ

समाधान संवाददाता २०८२ भदौ २० गते ४:३७


पोखरा ।
पोखरा–१७ मा रहेको पाताले छाँगो (डेभिड फल्स) निजी कम्पनीलाई दिने सहमति देखि नै सुरु भएको विवाद अझै सकिएको छैन् । पोखरा महानगरपालिकाले निजी कम्पनीलाई सार्वजनिक–निजी साझेदारी (सानिसा) मोडलमा सञ्चालन गर्न दिने भनेपछि स्थानीयले विरोध गर्दै आएका छन् । विवादकै विषयमा बिहीबार खुकुरी प्रहारको घटना भएको छ ।


पोखरा महानगर सम्झौता भइसकेको योजना निजी कम्पनीलाई दिने तयारीमा छ । भने, पोखरा १७ का स्थानीय कुनैपनि हालतमा काम अघि बढाउन नदिने ध्याउन्नमा छन् । सोही कारण जति जति बेला निजी कम्पनी र पोखरा महागरको टोली त्यस क्षेत्रको कामका लागि जान्छन अनि विवादले चर्को रुप लिन्छ । सोही अनुसार निजी कम्पनीले सेती क्यान्योन प्रालिले पातले छाँगो परिसरका सार्वजनिक सुनुवाईको आयोजना गरेको थियो ।

प्राकृतिक सम्पदा ४० वर्षका लागि दिदैनौं । राज्यले वार्षिक साढे ४ करोड आम्दानी गरेको संस्था त्यति धेरै वर्षका लागि, १.८ किलोमिटर खोला र झण्डैझण्डै २ सय रोपनी जग्गा मात्र २ करोडमा हामी दिदैनौं, राज्यको सम्पति महानगर आफैले चलाओस ठिक छ हामी विरोध गर्दैनौं : देवराज आचार्य, स्थानीय अगुवा

Advertisement


केही दिन अगाडि गर्ने भनिएको सार्वजनिक सुनुवाई जनसहभागिता कम नभएको भन्दै स्थगित गरेर बिहीबार गरिएको थियो । उक्त कार्यक्रममा स्थानीयले कार्यक्रममा उपस्थित पोखराका मेयर विरुद्ध नाराबाजी गर्न भ्याए । आफूविरुद्ध चर्को नाराबाजी भएपछि नगरप्रहरीको कडा सुरक्षाबीच पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।


विद्यार्थी नेता तथा स्थानीयको नाराबाजी सुरु भएपछि मेयर आचार्य सुरक्षाकर्मीसँगै बाहिरिएका हुन् । सुनुवाइमा आसन ग्रहणपछि डेभिड फल्स भाडामा लिने कम्पनी सेती क्यान्योनका कर्केन गुरुङले मन्तव्य राखेपछि स्थानीयले विविध प्रश्न राख्दा सुनुवाइ पुनः बिथोलिएको हो ।

Advertisement


अघिल्लो बुधबार पनि सेती क्यान्योनले पाताले छाँगो स्काईवाक तथा अन्य पूर्वाधार विकास आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणका लागि सार्वजनिक सुनुवाइसम्बन्धी सूचना भन्दै पत्रिकामा सूचना प्रकाशन गरेको थियो । त्यतिबेला पनि स्थानीयकै अवरोधका कारण कार्यक्रम हुन सकेको थिएन ।


कार्यक्रम हुन नसकेपछि सोही युवाहरू उक्त आयोजनाको विरोध गर्ने विद्यार्थी नेतामाथि आक्रमणमा उत्रिएका थिए । उनीहरूको आक्रमणकै कारण नेपाल विद्यार्थी संघका नेता निर्दोषविक्रम पौडेल घाइते भएको प्रहरीले जनाएको छ । बैदाम प्रहरीका अनुसार, पौडेलमाथि खुकुरी प्रहार भएको हो । त्यसमा संलग्न वंशसिंह खवासलाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणमा संलग्न अन्य युवाहरू आफ्नो सवारीसाधन छाडेर भागेका थिए ।


सेती क्यान्योन प्रालिसँग महानगरपालिकाले २०७८ को साउन १४ मा पाताले छाँगो क्षेत्र ४० वर्षका लागि दिने सम्झौता गरेको हो । तर, उक्त सम्झौतामा भएका बुँदामा असहमति जनाउँदै विवाद हुने गरेको छ । पोखरा १७ का स्थानीय अगुवा देवराज आचार्य कुनै पनि हालतमा ४० वर्षसम्म सरकारको सम्पति निजी क्षेत्रलाई दिन नहुने बताउँछन् । ‘हामी प्राकृतिक सम्पदा ४० वर्षका लागि दिदैनौं । राज्यले वार्षिक साढे ४ करोड आम्दानी गरेको संस्था त्यती धेरै वर्षका १.८ किलोमिटर खोला र झण्डैझण्डै २ सय रोपनी जग्गा मात्र २ करोडमा हामी दिदैनौं,’ उनले भने, ‘राज्यको सम्पति महानगर आफैले चलाओस ठिक छ हामी विरोध गर्दैनौं ।’

सबै कुरा प्रक्रियासम्मत छ । अब यो ठेक्का तोडेर जादा महानगरले करोडौं रकम क्षतिपुर्ति तिर्नुपर्छ । कम्पनीले मुद्दा हाल्यो भने बन्द हुन सक्छ । अहिले लहडमा आएर विरोध गर्न भएन नि–

मोती तिम्सिना, प्रवक्ता, पोखरा महानगर


बिहीबारको घटनाका बारेमा पोखरा महानगरका मेयरले गर्नै नपर्ने काम गरेर पातले छाँगो तनावग्रस्त बनाएर गएको आरोप लगाए । ‘सार्वजनिक सुनुवाईमा मेयरको उपस्थिती थियो । मेयर जनपग प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी र उहाँले ल्याउनु भएको छुट्टै खालको केटाहरुसहित ४ वटा घेरा भित्र बस्नुभयो । अनि सोही घेराबाट बाहिर निस्किएर दुगुर्नुभयो । उहाँ त्यहाँ न बोल्नुभयो न के गर्नुभयो केही पनि गर्नुभएन्,’ उनले भने, ‘त्यसपछि त्यहाँ खुकुरी हान्ने घटना पनि भयो । मेयर सा’बले आज जे गर्नुभयो त्यो नगर्नपर्ने काम गरेर तनावग्रस्त बनाएर उहाँ भागेर हिड्नुभयो ।’


यता पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले भने मेयर बोल्नै नपर्ने भएकाले केही प्रतिक्रिया नदिएको बताए । कार्यक्रमका दौरानमा केही स्थानीयले मेयरका विरुद्धमा नाराबाजी भएको उनले सुनाए । त्यसपछिको घटना (खुकुरी हानिएको) का बारेमा महानगरलाई कुनै जानकारी नै नभएको उनको भनाइ थियो । ‘मेयर सा’ब किन बोल्नुभएन भन्ने कुरा उठेको थियो । आज हामी बोल्ने कुरै होइन । आज हामी रोहवरमा उपस्थित भएको हो,’ उनले भने, ‘आज निजी कम्पनीले रिपोर्ट प्रस्तुत गर्ने अनि स्थानीय बोल्ने कार्यक्रम हो ।’


सार्वजनिक–निजी साझेदारी (सानिसा) मोडल अनि सेती क्यान्योन प्रालिका बारेमा उनले कानुनसम्मत अघि बढ्ने बताए । ‘कानुन भन्दा माथि त कोही पनि छैन होला । त्यो सम्झौता भनेको कानुनसम्मत दिएको कुरा हो,’ उनले भने, ‘हामी निर्वाचित हुनुभन्दा अघिल्लो कार्यकालमा कार्यपालिकाबाट निर्णय भएर आशयपत्र निकालेर प्रक्रियासंग आएको कम्पनी हो ।’ ४० वर्ष दिने सम्झौता बढि भयो भनेर उक्त कम्पनीलाई मुद्दा परेपनि प्रक्रियासम्मत भएका भन्दै अदालतबाट कम्पनीको पक्षमा फैसला आएकाले कानुनको सम्मान गर्दै अघि बढ्नुको विकल्पन नभएको उनले बताए ।
करौडौं लगानी गर्न महानगरले नसक्ने भएपछि निजी कम्पनीलाई दिनु उचित रहेको प्रवक्ता तिमिल्सिनाको भनाइ छ ।

‘पोखरा महागरले त्यो परियोजनामा मात्र लगानी गरेर पनि भएन् । त्यसो भएको हुनाले कसैले कुनै स्वार्थमा गरेको कुरा हैन,’ उनले भने, ‘कुनै स्वार्थ राखेर गरेको छ भने उसले कानुन अनुसार सजाय भोग्नुपनि पर्छ । अहिले लहडमा आएर भ्रम सिर्जन गर्नु पनि भएन् ।’ पातले छाँगोको आम्दानीबाट सञ्चालन हुने छोरेपाटन माबिलाई महानगर आफैले वार्षिक ३ करोड १ लाख रुपैयाँ दिने गरी प्रक्रिया अघि बढिसकेकाले विरोध गर्नुपर्ने कुनै कारण नरहेको उनले सुनाए ।

  • सेती क्यान्योनले पाताले छाँगोमा के के गर्छ?
    –पाताले छाँगो माथि सिसाको स्काई–वाक, खोलामाथि ट्राम्पोलिन, टनेल र लिफ्ट, रेस्टुरेन्ट र क्याफे, स्टीम बोटलगायत
    –व्यावसाय सञ्चालनपछि वार्षिक स्थिर रोयल्टी २ करोड रुपैयाँ र कुल आम्दानीको ८ दशमलव ५ प्रतिशत परिवर्तनशिल रोयल्टी महानगरलाई बुझाउछ ।
    –४ वर्षपछि स्थिर रोयल्टीमा ५ प्रतिशत वृद्धि गर्दै त्यसपछि २/२ वर्षमा ५ प्रतिशत चक्र वृद्धिले हुन आउने रकम महानगरलाई बुझाउछ ।
    –४ वर्षपछि वरिवर्तनशिल रोयल्टीमा १० प्रतिशतले वृद्धि गरी महानगरलाई बुझाउँछ ।


कम्पनीले वार्षिक दिने भनेको वार्षिक २ करोडका विषयमा पनि केही स्थानीयले भ्रम सिर्जना गरेका उनले बताए । २ करोडमा टिकट बिक्रीबाट आउने रोयल्टीको कुरा कसैले नगरेको उनले सुनाए । सम्झौताको २ करोडमा रोयल्टी रकम जोड्दा विरोध गरिरहेका स्थानीयले त्यहाँबाट वार्षिक आम्दानी गर्ने भनिएको ४ करोडभन्दा बढि रकम कम्पनीले दिने उनले प्रष्टाए । ‘केही स्थानीय किन विरोध गरेका छैन् थाहा छैन् तर त्यहाँका धेरैले यो योजना ल्याउनुपर्छ भनेका छन्,’ उनले भने, ‘सबै कुरा प्रक्रियासम्मत छ । अब यो ठेक्का तोडेर जादा महानगरले करोडौं रकम क्षतिपुर्ति तिर्नुपर्छ । कम्पनीले मुद्दा हाल्यो भने बन्द हुन सक्छ । अहिले लहडमा आएर विरोध गर्न भएन नि ।’

तपाईको प्रतिक्रिया