गोरखा मिलन समाजको चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता

समाधान संवाददाता २०८२ भदौ २२ गते ५:०५

पोखरा ।

गोरखा मिलन समाज पोखराले आफ्नो स्थापना दिवसको अवसरमा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता गरेको छ । गोरखाबाट पोखरा आएर अध्ययन गर्ने विद्यार्थीबीच समाजको २७ औं वार्षिकोत्सवको अवसरमा विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

चित्रकला प्रतियोगितामा जुनियरतर्फ सुमिना सिंखडा प्रथम, लुयना गुरुङ द्वितीय, सुजिता बयलकाटी तृतीय र नमिक भुजेल, यार्जा राना मगर र लुना गुरुङ सान्त्वना भएका छन् । चित्रकला सिनियरतर्फ विवेक गिरी प्रथम, प्रिशा गौतम द्वितीय र कृतन घले तृतीय भएका छन् ।

Advertisement

वक्तृत्वकलाका लागि ‘गोरखा हाम्रो गौरव’ शीर्षक दिइएको थियो । उक्त शीर्षकको आधारमा भएको प्रतिस्पर्धामा सन्जु सुर्खेती प्रथम, प्रवेश थापा द्वितीय र रोशन कार्की तृतीय भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले गोरखाको माटो र गोरखालाई माया गर्नेहरूको समाज भएकाले समाजले गर्ने हरेक कार्यक्रम विशेष हुने बताए । गोरखाबाट पोखरा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका लागि आएका व्यक्तिहरूको प्रतिभा देख्दा निकै खुशी लागेको उनले बताए । गोरखाको विषयमा विद्यार्थीहरूले बोल्दा गोरखाको महत्व र यसको गरिमा झन् उच्च बनेको महसुस भएको उल्लेख गर्दै उनले भने, ‘गोरखाबाट हामी पोखरा आए पनि मातृभूमिप्रतिको माया र समर्पण सधैं गाढा रहनेछ ।’

Advertisement

कार्यक्रम संयोजक तथा समाजका पूर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठले समाजको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित यस प्रकारका कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग गर्ने बताए । विद्यार्थीहरूले चित्रकलामा समेत गोर्खाली भाव झल्कने चित्र बनाउनुले गोरखा प्रतिको माया र स्मरण बालबालिकामा समेत रहेको देखाएको उनले बताए ।

कार्यक्रम समाजका महासचिव शितल श्रेष्ठले सञ्चालन गरेका थिए भने अध्यक्षता समाजका अध्यक्ष अग्रिम श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया