म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो निर्व्याजी ऋण

म्याग्दी। बेनीमा समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले उद्यम गर्न चाहने विद्यार्थीलाई बिनाधितो निर्व्याजी ऋण उपलब्ध गराउन सुरु गरेको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका–९ तोरीपानीकी श्रेया श्रेष्ठको ‘हिमालयन ट्वाक्क टिम्मुर’ परियोजनाले पहिलो पटक ७ लाख २० हजार रुपैयाँ ऋण पाएको छ ।
बेनीमा आज भएको २४ औं क्याम्पससभामा श्रेयालाई पहिलो किस्तावापत ४ लाख ३२ हजार रुपैयाँ उपलब्ध गराइएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए । उनले तोकिएको काम गरेपछि बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराइने बताए ।
‘शिक्षालाई रोजगार र उद्यमसँग जोड्नका लागि विद्यार्थीलाई परियोजनामा आधारित बिनाधितो र बिनाव्याजमा चार वर्षभित्र किस्ताबन्दीमा फिर्ता गर्ने गरी ऋण उपलब्ध गराएका हौं’, सुवेदीले भने, ‘विश्वविद्यालय अनुदान आयोगको उद्यमशीलता सहायता कार्यक्रमअन्तर्गत विभिन्न प्रक्रिया पूरा गरेर छनोट भएका परियोजनालाई ऋण उपलब्ध गराएका हौं ।’
श्रेया र श्रीकृष्ण अधिकारीले म्याग्दीको उच्च पहाडी भूगोलमा पाइने मसलेदार फल टिम्मुर खेती, प्रशोधन र बजारीकरणका लागि प्रस्ताव गरेको परियोजना आयोगले छनोट गरेको हो । यससँगै १८ वटा क्याम्पसले परियोजना प्रस्ताव गरेका थिए ।
म्याग्दी बहुमुखी क्याम्पसका उद्यमशीलता परियोजना संयोजक प्राध्यापक रामजीप्रसाद सुवेदीले क्याम्पसका विद्यार्थीहरूले १३ वटा परियोजना पेस गरेकामा बेनी नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि समावेश समितिले अन्तर्वार्ता माध्यमबाट छनोट गरेका पाँच प्रस्ताव आयोगमा सिफारिस गरिएको जनाए । उनका अनुसार श्रेया र श्रीकृष्णको परियोजना छनोट भएको हो ।
‘दुई जनाको संयुक्त परियोजना छनोट भए पनि पहिलो चरणमा टिम्मुर खेती गरिरहेकी श्रेयालाई ऋण दिने र उनले फिर्ता गरेपछि श्रीकृष्णलाई उपलब्ध गराउने आन्तरिक सहमति भएको छ’, संयोजक सुवेदीले भने, ‘अनुदान आयोगले उपलब्ध गराएको रकमलाई बिउ पुँजी मानेर अन्य विद्यार्थीको परियोजनामा लगानी गर्ने योजना छ ।’
ऋणको एक प्रतिशत क्याम्पसको उद्यमशीलता प्रवर्द्धन कोषमा राखिने जनाउँदै सुवेदीले त्यसलाई विद्यार्थीको उद्यमशीलता विकासमा परिचालन गरिने बताए । आयोगले गतवर्ष उपलब्ध गराएको १५ लाख रुपैयाँ बजेटबाट क्याम्पसले विद्यार्थी तथा उद्यमीलाई दुई महिने तालिम दिएको थियो । साथै पर्वत, बागलुङ र म्याग्दीका उद्योगको भ्रमण गराई सहभागीलाई व्यावसायिक योजना मागिएको थियो । तालिममा सहभागी ४२ मध्ये १३ जनाले मात्र परियोजना प्रस्ताव गरेका थिए ।राष्ट्रिय समाचार समिति (रासस)









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया