निजामती फुटसल उपाधि उच्च अदालत पोखरा र महिलातर्फ आयोजकलाई उपाधि

पोखरा ।
निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित तेस्रो निजामती फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न भयो । पुरुषतर्फ उपाधि उच्च अदालत पोखराले जित्दा महिलातर्फ आयोजक टोली च्याम्पियन बन्यो ।
फाइनलमा पुरुषतर्फ उच्च अदालत पोखराले मादी गाउँपालिका, कास्कीलाई पराजित गर्दै शीर्ष स्थान हात पार्यो । महिलातर्फ आयोजक टोलीले जिल्ला अदालत कास्कीलाई हराउँदै विजयी बनेको थियो । यसैगरी, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीको टोली ‘टिम टुरिज्म’ तेस्रो स्थानमा रह्यो ।
यस पटक कुल २३ टोलीले नाम दर्ता गरेका थिए । तर, अन्तिम समयमा एक टोली फिर्ता भएका कारण १८ पुरुष र ४ महिला टोलीसहित २२ टोली सहभागी भए । पुरुषतर्फ पहिलो चरणमा गोलाप्रथाद्वारा चार समूहमा विभाजन गरी लिग चरणका खेल खेलेजाए भने महिलातर्फ चार टोली भएकाले सिधै नकआउट चरणमा प्रवेश गरियो । भदौ १५ देखि २० गतेसम्म पोखराको मुस्ताङ चोक फुटसलमा भएको प्रतियोगितामा ४४ खेल खेलिएका थिए ।

कार्यक्रम नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन कास्की जिल्ला समितिले आयोजना गरेको हो । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अतिरिक्त क्रियाकलाप उपसमितिको कार्यक्रमअनुसार यो प्रतियोगिता गरिएको थियो । निजामती कर्मचारीबीच खेलकुदमार्फत भाइचारा, समन्वय र सृजनशीलता बढाउने उद्देश्यसहित यसअघि पनि संगठनले यस्तै कार्यक्रम गर्दै आएको जनाएको छ ।
सुरुवाती वर्षमा जम्मा ७ टोली मात्र सहभागी भएका थिए भने २०८१ सालमा पुरुषतर्फ १६ टोलीले भाग लिएका थिए । यस वर्षको सहभागिताले प्रतियोगिताको लोकप्रियता र निरन्तरता देखाएको आयोजकको भनाइ छ ।
प्रतियोगिताको उद्घाटन भदौ १५ गते कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिइन् । उद्घाटन सत्रको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष गोविन्द प्रसाद रिजालले गरेका थिए ।
फाइनल खेलअघि सम्पन्न विशेष कार्यक्रममा पनि अध्यक्षता रिजालकै थियो भने नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रदेश सचिव, न्यायाधीश, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, ट्रेड युनियनका पदाधिकारी, खेलाडी र पत्रकारसहित करिब ३०० जनाको उपस्थिति थियो ।
सांस्कृतिक प्रस्तुतिहरू र राष्ट्रभक्ति गीतमा नृत्यसहितको स्वागत कार्यक्रम राखिएको थियो । स्वागत मन्तव्य संगठनका सचिव अविनाश भट्टराईले दिएका थिए । कार्यक्रममा संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले ‘कर्मचारीले खेलकुदमा देखाएको सक्रियता प्रशंसनीय छ’ भन्दै टुर्नामेन्ट सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै, गण्डकी प्रदेश सरकारका निवर्तमान प्रमुख सचिव डा. खगेन्द्र प्रसाद सुवेदीले खेलकुदले कर्मचारीबीच आत्मीयता र प्रेरणा बढाउने उल्लेख गर्दै प्रतियोगिता सफलताको शुभकामना दिएका थिए । प्रमुख अतिथि अम्बादत्त भट्टले भने ‘प्रतियोगिताले कर्मचारीबीच सम्बन्ध अझ प्रगाढ बनाएको छ’ भन्दै संघीय निजामती सेवा गठन र सञ्चालनसम्बन्धी संसदमा विचाराधीन विधेयकमा आफ्नो संगठनले प्रभावकारी सुझाव दिइरहेको जानकारी दिए ।
अन्त्यमा अध्यक्ष रिजालले सम्पूर्ण सहभागी, अतिथि र आयोजकलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
समारोहमा संविधान सभा सदस्य राजकाजी गुरुङ, जिल्ला न्यायाधीश श्याम प्रसाद श्रेष्ठ, उच्च अदालत पोखराका नि. रजिष्ट्रार जीवन कुमार पौडेल, गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव रमेश ढकाल, प्रदेश सचिवहरू धु्रव गिरी, ऋषीराम शर्मा आचार्य, बासुदेव रेग्मी, मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ, वडाध्यक्ष भोज बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बरालसहित धेरै व्यक्तिहरू उपस्थित थिए ।
यसैगरी, विभिन्न ट्रेड युनियनका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता पनि थियो । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका मेघराज आचार्य, श्यामलाल लामिछाने, सुरज निरौला, नारायण राज सापकोटा, रामचन्द्र ढुंगाना, जनक पौडेल, कल्पना पण्डित, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका सोमलाल तिवारी, गुरुप्रसाद पोख्रेल, नेपाल निजामती कर्मचारी युनियनका केदार सापकोटा, नेपाल सरकारका उपसचिव अर्जुनदेव ज्ञावली र अमृत रेग्मी लगायतका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया