मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा थापा

समाधान संवाददाता २०८२ भदौ २२ गते १८:४६

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालका लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् ।

‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार पोखरामा आयोजित अन्तरक्रियामा मन्त्री थापाले मानव बेचबिखनविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखे ।

उनले गरिबी, बेरोजगारी, अशिक्षा, लैंगिक विभेद र घरेलु हिंसा जस्ता कारणले नेपालमा मानव ओसारपसार बढेको उल्लेख गर्दै विशेषगरी महिला, बालबालिका र सिमान्तकृत समुदाय बढी जोखिममा पर्ने बताए । ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ,’ उनले भने ।

Advertisement

हिंसामा परेका महिला तथा बालबालिकाका लागि अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापना केन्द्र सञ्चालन, जनचेतनामूलक अभियान, प्रविधिको प्रयोग, सीमामा निगरानी प्रणाली लगायतका कार्यक्रमअघि सारिएका छन् । तर स्रोत–साधनको अभाव, अन्तरदेशीय सीमा नियन्त्रणको कठिनाइ, अपराधिक गिरोहहरूको सञ्जाल, पीडितको पहिचान र पुनःस्थापनामा देखिने समस्या अझै चुनौतीको रूपमा रहेको उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक सरला ढकालले प्रस्तुत गरेको विवरण अनुसार पोखराका ११ डान्सबारमा गरिएको अनुगमनमा भड्किलो पोशाकको प्रयोग देखिएको छ । पछिल्लो समयमा यौन शोषणका घटना बढ्दो क्रममा रहेको उनले बताइन् । कास्कीमा हालसम्म मानव बेचबिखनसम्बन्धी १ हजार २ सय ३४ मुद्दा दर्ता भइसकेका छन् भने औसतमा दैनिक ५ मुद्दा दर्ता हुने गरेका छन् ।

Advertisement

मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले हिंसापीडित प्रभावितका लागि तत्काल उद्धार समन्वय सञ्जाल गठन, बालिका तथा समावेशी शिक्षा सञ्जाल परिचालन, सचेतनामूलक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन, आपतकालीन उद्धार कार्यक्रमलाई ११ वटै जिल्लामा लैंगिक हिंसा विरुद्ध निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन् । ‘गण्डकी प्रदेशमा ८ जिल्लामा अल्पकालीन सेवा केन्द्र र प्रदेशस्तरीय दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनमा छन् । औद्योगिक प्रशिक्षार्थी, सीपमूलक तालिम, सिक्दै–कमाउँदै रमाउँदै कार्यक्रम तथा सामूहिक उद्यमशीलता प्रवद्र्धन गरिएका छन्’, उनले भनिन् ।

शान्तिका लागि नागरिक समाज सञ्जाल संयोजक बिना सिलवालले ड्रग र यौन व्यवसायबीचको सम्बन्ध औंल्याउँदै शिक्षा व्यवस्थापनमार्फत यौन नियन्त्रण आवश्यक भएको जनाइन् । ९० प्रतिशत यौनजन्य दुव्र्यवहार घरभित्रै हुने भएकाले सुरुवातमै जोगाउनेतर्फ ध्यान दिन जरुरी रहेको उनले औंल्याइन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजमा नैतिकता र संस्कार सिकाउनुपर्नेमा जोड दिए । ‘मानव बेचबिखन नियन्त्रणका लागि कानुनी व्यवस्थामात्र होइन, सामाजिक मूल्य–मान्यतालाई बलियो बनाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा सहभागी वक्ताहरूले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी, गैरसरकारी, उद्योग वाणिज्य क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । समुदाय स्तरमा जनचेतना अभिवृद्धि, सुरक्षाकर्मीको भूमिका सुदृढीकरण र स्थानीय सरकारसँगको सहकार्यले मात्र यस समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने भनाइ उनीहरुको छ ।

मन्त्रालयका निमित्त सचिव प्रकाश ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका अधिकारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, निजी क्षेत्र र सञ्चारकर्मीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया