बागलुङमा चट्याङ लागेर एकको मृत्यु, ३८ जना घाइते

समाधान संवाददाता २०८२ भदौ २७ गते ७:१७

बागलुङ ।
बागलुङको तमानखोला गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । बुधबार राति तमानखोला–६ नर्जाखानीमा चट्याङ लाग्दा स्थानीय ७१ वर्षीया मनकली वि.क.को मृत्यु भएको वडाध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिए ।

घटनामा अन्य ३५ जना घाइते भएका छन् । घाइतेहरूको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार भइरहेको छ । वडाध्यक्ष छन्त्याल आफैं पनि बायाँ खुट्टामा चोट लागेर घाइते भएका छन् । उनका अनुसार चट्याङकै कारण नर्जाखानी गाउँका करिब ६० घरमा क्षति पुगेको छ । बरागोस र पाल्ले खानीखोला लघु जलविद्युत् आयोजनासमेत पूर्णरुपमा क्षति पुग्दा हाल त्यस्तो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

यसैगरी, जैमिनी नगरपालिका–८ अर्खलाबोटस्थित बलबहादुर नेपालीको घरमा चट्याङ पर्दा तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया