लुटिएका सामग्री तत्काल बुझाउन कास्की प्रशासनको आग्रह

समाधान संवाददाता २०८२ भदौ २७ गते १९:४३

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हालैको जेन–जेड आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई लुटिएका सम्पत्ति तत्काल फिर्ता गर्न आग्रह गरेकी छन्।

भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनमा अवाञ्छित तत्त्व प्रवेश गरी सरकारी, अर्धसरकारी, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल, राजनीतिक दलका कार्यालय तथा सुरक्षा निकायका पोस्टमाथि आक्रमण भई हातहतियारदेखि इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप, फर्निचर, भाँडाकुँडासम्म लुटपाट भएको प्रशासनले जनाएको छ।

शर्माले जनजीविकालाई सामान्यीकरण गर्न, सार्वजनिक सेवा सुचारु राख्न र बजार व्यवस्थालाई चलायमान बनाउन लुटिएका सामान नजिकको प्रहरी इकाइ वा सम्बन्धित निकायमा बुझाउन अपिल गरेकी हुन्।

Advertisement

प्रशासनका अनुसार सीसीटीभी फुटेज र सामाजिक सञ्जालका तस्बिरका आधारमा लुटपाटमा संलग्न व्यक्ति तथा सामान लुकाइएका स्थान पहिचानको प्रक्रिया तीव्रगतिमा भइरहेको छ। सामान फिर्ता नगरेमा प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही अघि बढाइने चेतावनी समेत दिइएको छ।

Advertisement

तपाईको प्रतिक्रिया