जेन–जी आन्दोलनको प्रभाव, बिमा क्षेत्रमाथि अभूतपूर्व दबाब

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा देशभर भएको तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिको क्षतिले बिमा क्षेत्रमा अहिलेसम्मकै ठूलो दबाब सिर्जना गरेको छ । संघीय राजधानी काठमाडौंदेखि प्रमुख सहरसम्म फैलिएको आन्दोलनले निजी, व्यावसायिक तथा सार्वजनिक सम्पत्तिमा अर्बौंको क्षति पुर्याउँदा बिमा दाबी सर्वाधिक हुने अनुमान गरिएको छ ।
तर, सरकारी तथा सार्वजनिक सम्पत्ति भने बिमाको दायराबाहिर रहेकाले यसको प्रत्यक्ष आर्थिक भार राज्यकै काधमा पर्न गइरहेको छ । सिंहदरबार, प्रधानमन्त्री निवास–कार्यालय, राष्ट्रपति भवन, संसद् भवन, मन्त्री निवास, प्रहरी कार्यालयदेखि स्थानीय तहका कार्यालयसम्म बिमाबाहिर भएकाले क्षतिपूर्तिबिना राज्यलाई ठुलो मार पर्न लागेको हो ।
यता, निजी र व्यावसायिक सम्पत्तिको भने विभिन्न बिमा कम्पनीमार्फत सुरक्षण भएकाले त्यसको आर्थिक बोझ केही हदसम्म कम हुने देखिएको छ । नेपाल बिमा प्राधिकरणले तत्काल दाबी छिटो फस्र्योट गर्न निर्देशन दिइसकेको भए पनि निषेधाज्ञा र कफ्र्युका कारण कम्पनीहरूले मूल्याङ्कन र दाबी प्रक्रिया अगाडि बढाउन नसक्ने अवस्था देखिएको छ ।
प्राधिकरणले क्षतिको विवरण हप्तामा एकपटक गुगल फाराममार्फत पठाउन निर्देशन दिएको छ । अहिले भाटभटेनी सुपरस्टोर, सिजी पार्क, एनसेल, होटल हिल्टन, विभिन्न सुपरमार्केट, अटोमोबाइल्सका सोरुम, निजी घर तथा सवारी साधनलगायत क्षतिग्रस्त सम्पत्तिबाट ठूलो संख्यामा बिमा दाबी आउने अनुमान छ । होटल सङ्घ नेपालका अनुसार मात्र २५ वटा होटल, रिसोर्ट र रेस्टुरेन्टमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
विशेषगरी हुलदङ्गा जोखिम बिमा अन्तर्गत यस्ता क्षतिको भुक्तानी हुने व्यवस्था छ । तर ठूला संरचनाहरू पुनर्बिमा भएकाले यसको दबाब विदेशी पुनर्बिमकलाई पर्नेछ भने साना दाबी स्वदेशी कम्पनीमै अड्किनेछन् । होटल हिल्टनको बिमा भारतको ओरिएन्टल इन्स्योरेन्समा रहेको खुलेको छ । नेपाल पुनर्बिमा कम्पनीले १० करोड रुपैयाँसम्मको बिमाङ्कमा ६५ प्रतिशत दायित्व लिने व्यवस्था कार्यान्वयन गरिरहेको छ ।
बिमाविज्ञ प्रा.डा. रवीन्द्र घिमिरेका अनुसार सरकारी संरचनामध्ये अधिकांश बिमाबाहिर रहनु विडम्बना हो । उनले निजी क्षेत्रमा पनि ठूला व्यापारिक संरचना बाहेक धेरै सम्पत्ति असुरक्षित रहेको भन्दै यसपटकको क्षतिले सम्पत्ति बिमाको नीतिगत कमजोरी उजागर गरेको बताए ।
२०७२ को भूकम्पमा १७ अर्ब ६५ करोड बराबरको बिमा दाबी परेको थियो । नेपाल बिमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवारका अनुसार हालको आन्दोलनपछिको दाबीले त्यो अंक पार गर्ने देखिएको छ ।
यसअघि कोरोना बिमाले ११ अर्बभन्दा बढीको दाबी झेल्दै आएको बिमा क्षेत्रमा हालको आन्दोलनपछिको क्षतिले थप संकट ल्याउने निश्चित देखिन्छ । गत चैतको राजावादी प्रदर्शनमा मात्र ५ करोड नाघेको क्षतिको दाबी परेको थियो भने अविरल वर्षाले गत वर्ष १२ अर्बभन्दा बढी दाबी उत्पन्न गरेको थियो ।
२०६१ मा इराकमा १२ नेपालीको हत्या भएपछि भएको हुलदङ्गाले पहिलो पटक बिमा बहसमा ल्याएको भए पनि त्यस्तो चेतना आजसम्म स्थायित्वसहित विकास गर्न नसकिएको विज्ञहरूको ठम्याइ छ । हालको आन्दोलनले पुनः त्यही प्रश्न खडा गरेको छ— नेपालमा सम्पत्ति बिमाको अभ्यास अझै किन कमजोर ?







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया