क्षति नभएका संरचनाबाट असोज १ देखि सेवा सुरू गर्ने पोखरा महानगरको निर्णय

पोखरा । पोखरा महानगरपालिकाले भदौ २४ गतेको तोडफोड र आगजनीपछि क्षति नभएका संरचनाबाट सेवा पुनः सुरू गर्ने निर्णय गरेको छ । शनिबार बसेको कार्यपालिकाको भर्चुअल बैठकले तत्काल आवश्यक सेवाहरू हस्तलिखित रूपमा भए पनि सञ्चालन गर्ने निर्णय गरेको महानगरका प्रवक्ता मोति तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार असोज गतेदेखि महानगर मातहतका स्वास्थ्य संस्था र सुरक्षित रहेका वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा सुरू गरिनेछ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको कक्ष पनि तत्काल निर्माण गरिने निर्णय भएको उनले बताए ।
‘क्षति नभएका कार्यालय र भवनहरूबाट सेवा सुरू गर्ने सहमति भएको छ,’ प्रवक्ता तिम्सिनाले भने, ‘जनतालाई तात्कालिक रूपमा आवश्यक पर्ने सेवा कुनै हालतमा रोकिँदैन ।’ महानगर र वडा कार्यालयहरुमा भएको क्षति प्रहरीको मुचुल्कासहित संकलन गर्ने निर्णय समेत भएको छ ।
यससँगै महानगरभित्रका विद्यालयहरू असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ । अन्य सामान्य सेवाहरु पनि सकेसम्म असोज १ बाटै नै प्रवाह गर्नका लागि प्रयास भइरहेको उनको भनाइ थियो ।
भदौ २४ गते प्रदर्शनकारीले महानगर कार्यालय, वडा कार्यालय र सेवा केन्द्रमा आगजनी र तोडफोड गरेका थिए । ध्वस्त संरचना पुनर्निर्माणका लागि भने संघीय सरकारको निर्णय पर्खिनुपर्ने प्रवक्ता तिम्सिनाले बताए ।
भर्चुअल बैठकमा मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, अधिकांश कार्यपालिका सदस्य र महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । जेनजी आन्दोलनअघि कास्केली समाजको सम्मेलनमा भाग लिन दुबई पुगेका मेयर आचार्य हाल दिल्लीमा रहेका र त्यहीँबाट बैठक सञ्चालन गरेको प्रवक्ता तिम्सिनाले बताए ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया