जेन–जीको आन्दोलनमा रास्वपाको घुसपैठ, काभ्रेमा घर जलाएको भिडियो सार्वजनिक भएपछि राजीनामा

समाधान संवाददाता २०८२ भदौ २९ गते १५:३७

काभ्रे । गत सोमबार र मंगलबार भएको जेन–जी आन्दोलन शान्तिपूर्ण ढंगले सुरु भए पनि त्यसमा घुसपैठ भएको तथ्य क्रमशः सार्वजनिक हुन थालेको छ । कांग्रेस र एमाले नेताहरूको घर तथा सम्पत्तिमा गरिएको तोडफोड र आगजनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेताहरूको संलग्नता देखिएपछि दुई पदाधिकारीले राजीनामा दिएका छन् ।

रास्वपा पनौती नगर समितिका अध्यक्ष विवेक भट्टराई र वडा इन्चार्ज सुरदर्शन तिमल्सिनाले आन्दोलनमा सक्रिय भूमिका खेलेको भिडियो र तस्बिर सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका हुन् । दुवै नेताले कांग्रेस–एमाले नेताहरूको घर जलाउने समूहको नेतृत्व गरेको प्रमाण खुलेको हो ।

भट्टराई काठमाडौं विश्वविद्यालयअन्तर्गतको कुप्स विद्यालयका स्थायी शिक्षक तथा ल्याब टेक्निसियन हुन् । शिक्षकलाई राजनीतिको गतिविधिमा संलग्न हुन रोक लगाउने आचारसंहिता हुँदाहुँदै पनि उनी नगर सभापति बनेर सक्रिय राजनीतिमा उत्रिएका थिए । यही बेला उनले आन्दोलनमा आगोको पुल्ठो बोकेर नेताहरूका घर जलाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Advertisement

यस्तै, तिमल्सिना पनि पनौती नगरपालिका–२ कुशादेवीका बासिन्दा र नगर समितिका सदस्य हुन् । उनले सामाजिक सञ्जालमार्फत आन्दोलनमा संलग्न हुनु गल्ती भएको स्वीकार गर्दै नगर सभापति तथा सदस्य दुवै पदबाट राजीनामा दिएका छन् । तिमल्सिनाले भनेका छन्, “मबाट कमजोरी भएकै हो, त्यो स्वीकार्छु । तर सम्पूर्ण दोष केवल मलाई मात्रै थोपार्नु न्यायोचित हुँदैन ।”

भट्टराई र तिमल्सिनाको समूहले पूर्वनगर प्रमुख भीम न्यौपाने, कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा अन्नपूर्ण मिडिया नेटवर्कका मालिक रामेश्वर थापाको घरमा तोडफोड र आगजनी गरेको प्रमाण सार्वजनिक भएको छ ।

Advertisement

यसरी जेन–जी आन्दोलनमा राजावादी, माओवादीसँगै रास्वपाका स्थानीय नेताहरू समेत घुसपैठ गरी हिंसात्मक गतिविधिमा संलग्न भएको पुष्टि भएपछि आन्दोलनको उद्देश्य र स्वरूपबारे गम्भीर प्रश्न उठ्न थालेको छ ।

तपाईको प्रतिक्रिया