विध्वंस गर्नेहरु आन्दोलनकारी होइनन् : मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८२ असोज १ गते १०:४६

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन–जी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र विध्वंसलाई आन्दोलन होइन, आतंकवाद’ को संज्ञा दिएका छन् । जेन–जीको भदौ २३ र २४ गते आन्दोलन हुँदा मुख्यमन्त्री पाण्डे युएईमा थिए । नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका थिए । उनी विदेशमा रहँदा गण्डकी प्रदेशका मात्र करिब ८० भन्दा बढी निजी तथा सरकारी भवनमा तोडफोड र आगजनी भयो ।


युएई भ्रमण सकेर स्वदेश फर्किएका पाण्डेले मंगलबार पोखराका क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै घटनाबारे आफ्नो धारणा राखेका हुन् । पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, गण्डकी प्रदेश सभा सचिवालय लगायत जलेका तथा क्षतिग्रस्त सरकारी संरचनाको प्रत्यक्ष अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा उनले तोडफोड र आगजनीमा संलग्न समूहलाई ‘विध्वंसकारी तत्व’ भन्दै ती कार्यलाई कतैबाट पनि आन्दोलन भन्न नमिल्ने बताए ।

Advertisement


‘आन्दोलन गर्ने कुरा अलग हो, तर यो जस्तो राज्यको सम्पति तोडफोड र आगजनी गर्ने आन्दोलन होइन, आतंकवाद हो,’ मुख्यमन्त्री पाण्डेले अवलोकनपछि पत्रकारहरुलाई भने । मुख्यमन्त्री पाण्डेले जेन–जी आन्दोलनका क्रममा करिब ८० भन्दा बढी सरकारी तथा निजी संरचना ध्वस्त भएको स्मरण गर्दै यो घटनामा मूल आन्दोलन आह्वानकर्ताको मात्र हात नभई मुलुकलाई अस्थिर बनाउन खोज्ने शक्तिहरूको संलग्नता रहेको दाबी गरे ।


उनका अनुसार नेपालमा विगतमा धेरै आन्दोलन भए तर यति ठूलो क्षति र ध्वंस कुनै आन्दोलनमा भएको थिएन । ‘यो आन्दोलनमा पनि बीचमा खेल्न चाहने र नेपाललाई कमजोर बनाउन चाहने तत्वले मौका पाए । त्यसैले यसलाई राजनीतिक मागमा सीमित आन्दोलन भन्न मिल्दैन,’ पाण्डेले भने ।

Advertisement


मुख्यमन्त्री पाण्डेले आन्दोलनमा उठाइएका मागलाई बेवास्ता गर्न नमिल्ने भन्दै रोजगारी, सुशासन र पारदर्शिता जस्ता प्रश्नलाई सरकारको प्राथमिकतामा राखिने बताए । ‘रोजगारी चाहियो भन्नु गलत होइन, सुशासन चाहियो भन्नु गलत होइन, तर कार्यालय जलाउने, संरचना भत्काउने कुरा स्वीकार्य हुँदैन,’ उनले स्पष्ट पारे ।

रोजगारी चाहियो भन्नु गलत होइन, सुशासन चाहियो भन्नु गलत होइन, तर कार्यालय जलाउने, संरचना भत्काउने कुरा स्वीकार्य हुँदैन


उनले विध्वंसकारी गतिविधिहरूलाई जनताले समर्थन नगरेको उल्लेख गर्दै भने, ‘जनताले देखाइदिए, जसले तोडफोड ग¥यो, उनीहरूलाई साथ दिने पक्षमा जनता छैनन् । बरु भत्केका संरचनाहरू छिट्टै उठाउन हामीलाई जनताले नै सहयोग गर्ने विश्वास दिएको छ ।’


मुख्यमन्त्री पाण्डेले अबको प्रमुख काम जनतासँग प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरूलाई तत्काल सञ्चालनमा ल्याउने बताउँदै संरचनागत पुनर्निर्माण क्रमशः अघि बढाइने जानकारी दिए ।


‘पहिलो प्राथमिकता भनेको सेवा दिने कार्यालय हो । प्रशासन, प्रहरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालयजस्ता संरचनाहरू चाँडै सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने ।


प्रदेश सरकारको बजेट पनि यस घटनापछि पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ । ‘संघ सरकारले बजेटमा के गर्छ त्यसअनुसार हामीले पनि आफ्नो बजेट पुनःसंरचना गर्नुपर्ने हुन्छ । पुनर्निर्माण र निर्माणलाई जोड दिइनु अपरिहार्य छ,’ पाण्डेले भने ।


मुख्यमन्त्री पाण्डेले अहिलेको घटनालाई ठूलो चुनौतीका रूपमा लिँदै तर निराश नभई सबै पुस्ता मिलेर देश पुनर्निर्माण र विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।


‘पुरानो पुस्ताले मात्रै होइन, नयाँ पुस्ताले मात्रै होइन, सबै पुस्ता मिलेर देश बनाउनु पर्छ । युवाको जोश, पुरानो पुस्ताको अनुभव, सबै मिलेर मात्रै मुलुक उठ्छ,’ उनले भने । उनले मुलुकका राजनीतिक दल र नेताहरूलाई समेत आत्मसमीक्षा गर्नुपर्ने भन्दै आन्दोलनमार्फत उठाइएका मागलाई सकारात्मक रूपले सम्बोधन गर्न तयार रहेको बताए ।

–विध्वंसकारीले आन्दोलनको नाममा खेल्ने मौका पाए
–माग जायज, तर विध्वंस अमान्य
–संरचना पुनर्निर्माण प्राथमिकता
–सबै पुस्ता मिलेर देश बनाउनु पर्छ

तपाईको प्रतिक्रिया