राष्ट्रिय सभा निर्वाचनः गण्डकीकाे २ सिटमा कस्काे बाजी

समाधान संवाददाता २०७६ पुष १६ गते १३:३४

समाधान संवाददाता, पाेखरा

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । माघ ९ गते हुने निर्वाचनका लागि पुस १७ गते मतदाता नामावली प्रकाशन र प्रकाशित नामावली उपर दाबी विरोधको उजुरी दिने मिति तोकिएको छ । १८ गते उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने र २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ ।

२१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र २३ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ । २४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान कार्यक्रम रहेको आयोगले जनाएको छ । माघ ९ गते बिहान १० देखि १६ बजेसम्म मतदान कार्यक्रम तोकिएको छ । आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

Advertisement

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभाको उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ । सम्बन्धित दलले नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएर बन्दसूचीबाट नाम हटाएको खण्डमा भने उम्मेदवार हुन पाउने नियम छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहबाट १–१ जनाका लागि राष्ट्रिय सभा सदस्यको चुनाव हुँदै छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे र विन्दा देवी आले (राना) को पदावधि सकिन लागेकाले उनीहरुको ठाउँमा निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा नेकपाको सहज बहुमत भएकाले सहमति भएवाहेक यो चुनावमा कांग्रेसले २ सिट गुमाउने निश्चित छ । गण्डकी प्रदेशसभाका ६० सदस्यमध्ये ३९ सिट नेकपाको छ । प्रदेशसभामा कांग्रेसका १५, समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ सदस्य छन् ।

Advertisement

गण्डकीका ८५ स्थानीय तहका १ सय ७० मध्ये ८२ मतदाता नेकपाका छन् । स्थानीय तहमा कांग्रेस ८१, राप्रपा २, जनमोर्चा ३ र स्वतन्त्र २ जना छन् । स्थानीय तहमा कांग्रेस नेकपाको मतान्तर धेरै नभए पनि प्रदेशसभा सदस्य र स्थानीय तहको मतभार ३० ले फरक रहेकाले नेकको सहज बहुमत छ । मत क्रस भएको खण्डमा परिणाम तलमाथि पनि हुनसक्छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारण गरिएको छ । गण्डकीमा स्थानीय तहको ३ हजार ६० र प्रदेश सभातर्फ २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार छ । निर्वाचनका लागि आयोगले निर्वाचन केन्द्र नै तोकिसकेको छ । गण्डकीको चुनाव जिल्ला निर्वाचन कार्यालय कास्कीमा केन्द्र तोकिएको छ ।

तपाईको प्रतिक्रिया