आगोले ध्वस्त निजी संरचनाको अगुगमनमा मुख्यमन्त्री पाण्डे
भन्छन्: ध्वंश गर्नेलाई कानुनी दायरामा ल्याउँछौं

पोखरा ।
जेन जी आन्दोलनका क्रममा पोखराको निजी क्षेत्रमा भएको क्षतिका बारेमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार अनुगमन गरेका छन् । मंगलबार र बुधबार सरकारी कार्यालय अनुगमन गरेका उनले बिहीबार लेकसाइड, नयाँबजार लगायतका क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरे ।
उनले लेकसाइडको सरोवर, बगैंचा, एडम, गुडविल लगायतका होटलसहित बिन्दुकुमार थापाको वाराहीचोकको व्यावसायिक भवन, सेन्टर प्वाइन्टको अंशुभरा स्क्वायर, पोखरा इभेन्ट सेन्टर पुगेर क्षतिको अनुगमन गरे ।
यसैगरी उनी न्युरोडको भाटभटेनी, महानगरपालिका, प्रदेश मन्त्री बिन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाको घर र व्यावसायिक प्रतिष्ठानमा समेत पुगेको प्रेस संयोजक नरहरि सापकोटाले बताए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लाखौँ रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका करदाता, व्यवसायीको निजी सम्पत्ति माथि आक्रमण हुनु दुःखद भएको बताए । व्यवसायीको हक हित र भयरहित लगानीमैत्री वातावरण निर्माण गर्न सरोकारवाला सबै जुट्नुपर्ने बताउँदै उनले आन्दोलनका नाममा सरकारी, सार्वजनिक एवं व्यक्तिगत सम्पत्ति ध्वंश गर्नेलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले बुधबार प्रदेश सरकार मातहतका मन्त्रालय, निवास, गण्डकी विश्वविद्यालय, लोक सेवा आयोग, प्रदेश प्रमुखको कार्यालय, सभामुख र उपसभामुखको निवास, मन्त्रीहरूको आवासमा क्षतिग्रस्त संरचनाको अवलोकन गरेका थिए ।
जेन–जीको भदौ २३ र २४ गते आन्दोलन हुँदा मुख्यमन्त्री पाण्डे युएईमा थिए । नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका थिए । उनी विदेशमा रहँदा गण्डकी प्रदेशका मात्र करिब ८० भन्दा बढी निजी तथा सरकारी भवनमा तोडफोड र आगजनी भएको छ । मंगलबार पनि मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, गण्डकी प्रदेश सभा सचिवालय लगायत जलेका तथा क्षतिग्रस्त सरकारी संरचना अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा मुख्यमन्त्री पाण्डेले कार्यालय प्रमुखहरूलाई सेवा प्रवाह गर्न सक्ने अवस्थासम्म कार्यालयलाई तयार पार्न निर्देशन दिएका छन् । उनले यसअघि मर्ज तथा कर्मचारी दरबन्दी कटौतीमार्फत मितव्ययी बनेको गण्डकी प्रदेशले खर्च कटौतीलाई अझ प्राथमिकता दिँदै बजेट कार्यान्वयन गर्ने स्पष्ट गर्दै सोही अनुसार योजना बनाउन मन्त्रालयका सचिव, निकाय तथा कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।
प्रदेश सरकार मातहतका अधिकांश मन्त्रालयले सेवा प्रवाह र नियमित कामका लागि वैकल्पिक व्यवस्था गरिसकेका छन् । ध्वस्त संरचनाको पुनःनिर्माण क्रमशः अघि बढ्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यो कठिन घडीमा सबैको साथ, सहयोग र सहकार्य आवश्यक पर्ने बताए ।
सुरेन्द्रराज पाण्डेले जेन–जी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र विध्वंसलाई आन्दोलन होइन, आतंकवाद’को संज्ञा दिएका छन् । अवलोकनका क्रममा उनले तोडफोड र आगजनीमा संलग्न समूहलाई ‘विध्वंसकारी तत्व’ भन्दै ती कार्यलाई कतैबाट पनि आन्दोलन भन्न नमिल्ने बताए । ‘आन्दोलन गर्ने कुरा अलग हो, तर यो जस्तो राज्यको सम्पति तोडफोड र आगजनी गर्ने आन्दोलन होइन, आतंकवाद हो,’ मुख्यमन्त्री पाण्डेले अवलोकनपछि पत्रकारहरुलाई भने ।
उनका अनुसार नेपालमा विगतमा धेरै आन्दोलन भए तर यति ठूलो क्षति र ध्वंस कुनै आन्दोलनमा भएको थिएन । ‘यो आन्दोलनमा पनि बीचमा खेल्न चाहने र नेपाललाई कमजोर बनाउन चाहने तत्वले मौका पाए । त्यसैले यसलाई राजनीतिक मागमा सीमित आन्दोलन भन्न मिल्दैन,’ पाण्डेले भने । मुख्यमन्त्री पाण्डेले आन्दोलनमा उठाइएका मागलाई बेवास्ता गर्न नमिल्ने भन्दै रोजगारी, सुशासन र पारदर्शिता जस्ता प्रश्नलाई सरकारको प्राथमिकतामा राखिने बताए । ‘रोजगारी चाहियो भन्नु गलत होइन, सुशासन चाहियो भन्नु गलत होइन, तर कार्यालय जलाउने, संरचना भत्काउने कुरा स्वीकार्य हुँदैन,’ उनले स्पष्ट पारेका छन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया