जेनजी आन्दोलनले नयाँ पुस्ताको चाहना देखायो : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भदौ २३ र २४ गते भएका आन्दोलनलाई नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहना प्रष्ट पार्ने घटनाका रूपमा व्याख्या गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुक्रबार पोखरामा भएको कार्यक्रममा उनले सहादत प्राप्त गरेका युवा र सुरक्षाकर्मीलाई श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति संवेदना प्रकट गरे । साथै उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितको न्याय सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर रहेको बताए ।

मुख्यमन्त्रीले भने, ‘जेनजी पुस्ताले उठाएका विषयहरु सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रता हाम्रा साझा लक्ष्य र जिम्मेवारी हुन् । तर पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै प्राप्त उपलब्धिमाथि प्रहार गर्ने र विकासलाई ध्वंस पार्ने प्रयास भएको छ ।’ उनले युवापुस्तालाई सकारात्मक सोच राख्दै अघि बढ्न आग्रह गरे ।
उनका अनुसार गण्डकी प्रदेश सरकारले राइड शेयरिङमार्फत युवालाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती गर्ने, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापनमार्फत सुशासन कायम गर्ने काम अघि बढाइरहेको छ । यी सुधार प्रशासनिक मात्र नभई युवाको आशा र विश्वास पूरा गर्न र प्रदेशको समुन्नतिको लागि पनि आवश्यक रहेको उनले स्पष्ट पारे ।
उनले भने, ‘लोकतन्त्रमा नागरिकको आवाज र अधिकारको सम्मान गर्न सरकारको दायित्व हुन्छ । माग पुरा गर्न संवैधानिक उपाय अबलम्बन गर्नु स्वागतयोग्य छ तर सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीलाई नियन्त्रण गर्दै नागरिकलाई शान्ति र सुरक्षा दिलाउनु पनि सरकारकै जिम्मेवारी हो ।’

कार्यक्रममा उनले संविधानले दिएको अधिकारसँगै कर्तव्यबोध पनि आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याए । ‘संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ । त्यसैले यसको रक्षा र कार्यान्वयनका लागि सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज र युवापुस्ताको भूमिका अपरिहार्य छ’ उनले भने ।
मुख्यमन्त्रीले संविधान दिवसका अवसरमा मुलुकका ज्ञात–अज्ञात सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्दै विभिन्न आन्दोलनमा क्षति व्यहोरेका नागरिक समाज, राजनीतिक दलका नेता तथा सर्वसाधारणलाई उच्च सम्मानका साथ स्मरण गरे । उनले भने, ‘संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको आधारशिला हो, जसले समान अधिकार, सामाजिक न्याय र समावेशी राज्यको परिकल्पना गरेको छ ।’
प्रदेश सरकारले सीमित साधन स्रोतका बाबजुद योजनाको सफल कार्यान्वयनमा ध्यान दिएको उनले बताए । पछिल्लो राजनीतिक घटनाक्रमपछि तत्काल सेवालाई सहज बनाउन मन्त्रालय, निकाय र कार्यालयमार्फत काम सुरु भएको र संघीय सरकारको नीतिअनुसार पुनर्निर्माण अघि बढाइने पनि उनले जानकारी दिए ।
पर्यटन राजधानीको रूपमा पोखरालाई अघि बढाउने दिर्घकालीन योजनामाथि आन्दोलनका कारण नकारात्मक असर परेको उनले बताए । निजी क्षेत्रमाथि आक्रमण भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार सक्रिय रहनेछ ।’
समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रतिको अभिभावकत्वको भूमिका प्रशंसा गर्दै आभार प्रकट गरे । अन्त्यमा उनले भने, ‘संविधानको मर्मलाई व्यवहारमा उतार्दै गण्डकी प्रदेश सरकारले लिएको आत्मनिर्भर र समुन्नत प्रदेश, खुसी प्रदेशवासीको संकल्प पुरा गर्न सबैले सहकार्य गर्नुपर्छ ।’








अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया