जेनजीका जायज माग पूरा गर्दै संविधान जोगाउन आवश्यक : प्रमुख सचेतकहरू

पोखरा । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन प्रमुख दलका प्रमुख सचेतकहरूले आम नागरिक, विशेषगरी युवा पुस्ताबीच बढ्दो निराशालाई आत्मसात गर्दै विगतका कमजोरी सच्याउन राज्य संयन्त्र जिम्मेवार बन्नुपर्ने बताएका छन् । संयुक्त विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जस्ता जेनजी पुस्ताका जायज माग पूरा गर्दै संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ मजबुत बनाउन सबैले योगदान दिनुपर्ने उल्लेख गरिएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सचेतकहरूले शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका छन् । उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना गर्दै आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडलाई दुःखद भन्दै घोर भर्त्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘जनधनको क्षतिसम्बन्धी छानबिन गरी संलग्नलाई कानूनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’
तीन दलका प्रमुख सचेतकहरूले आन्दोलन शान्तिपूर्ण हुने आयोजकको पूर्व घोषणा विपरीत सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद भवन, राष्ट्रपति भवन, प्रदेशसभा भवन, सरकारी कार्यालय र निजी आवासमा भएको विध्वंसप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राज्य संयन्त्रप्रति नागरिकमा बढ्दो वितृष्णालाई सहजै नजरअन्दाज गर्न नमिल्ने भन्दै विगतका कमजोरीहरूको आत्मसमिक्षा गर्न र सच्याउनुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।
यसैगरी उनीहरूले संविधानको एक दशक पूरा भएको अवसरमा यसको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्ताले अग्रसर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । सचेतकहरूले भनेका छन्, ‘वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबैले धैर्य र संयमता अपनाई राष्ट्रको विकास र समृद्धिको यात्रामा एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’
संविधानसभामार्फत २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको एक दशक पूरा भएको प्रसंग स्मरण गर्दै उनीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा सबैलाई शुभकामना समेत व्यक्त गरेका छन् । विज्ञप्तिमा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्द प्रसाद न्यौपाने, नेकपा (एमाले) का प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र नेकपा (माओवादी केन्द्र) की प्रमुख सचेतक कुसुम बुढा पुनले हस्ताक्षर गरेका छन् ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया