प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली चलाइएको पूर्व प्रधानमनत्री ओलीको दाबी

समाधान संवाददाता २०८२ असोज ३ गते १३:३२

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएको घटनामा सरकारले प्रदर्शनकारीलाई गोली हान्न आदेश नदिएको दाबी गरेका छन् । उनले प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली चलाइएको हुनसक्ने भन्दै त्यसबारे निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार जारी सन्देशमा ओलीले शान्तिपूर्ण हुने भनिएको जेनजी आन्दोलनमा घुसपैठ गरेर हिंसा मच्चाइएको बताए । उनले भने, ‘आयोजकहरूले भनेझैँ शान्तिपूर्ण प्रदर्शनमा षड्यन्त्रकारीहरूले घुसपैठ गरेर हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्छ ।’

ओलीले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले उक्त घटनालाई देशको संविधानमाथि ठूलो आक्रमणका रूपमा चित्रण गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर र व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ ।’

Advertisement

उनले यसका पछाडि गहिरो षड्यन्त्र रहेको दाबी गर्दै हाललाई धेरै कुरा नखुलाउने बताए । ‘धेरै कुरा समयले आफैं बयान गर्नेछ’, उनले भने । ओलीका अनुसार देश विकासको बाटोमा अघि बढ्दै गर्दा समाजमा देश बिग्रेको काल्पनिक भाष्य फैलाएर आक्रोश विस्तार गर्ने प्रयास गरिएको हो ।

पूर्व प्रधानमन्त्री ओलीले युवापुस्ताले इतिहासका घटनाबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याउँदै सार्वभौमसत्ता र संविधानको रक्षा गर्न सबै पुस्ताका नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ ।’

Advertisement

ओलीले संविधान जारी हुँदा नेपालले भोगेका चुनौतीहरू स्मरण गर्दै संविधान नेपाली जनताले आफैंले आफैंका लागि लेखेको ‘भविष्य रेखा’ भएको बताए । उनले सार्वभौमसत्तामाथि प्रहार भएको वर्तमान परिस्थितिलाई गम्भीर मान्दै सबैलाई अपील गरे, ‘संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं ।’

तपाईको प्रतिक्रिया