जो ८ फिटबाट हाम फालेर बाँचे

प्रमिला कुँवर २०८२ असोज ४ गते १६:१५

( म ठीक हुनेछु, फेरि उठ्छु, फेरि दौडन्छु । जिन्दगीमा एक÷दुई पटक लड्नुपर्छ, जो लडेर उठ्ने साहस गर्छ, ऊ कहिल्यै पराजित हुँदैन । )


पोखरा ।
पर्वतका २८ वर्षीय मदन पाठकको जीवन सामान्य रफ्तारमा चलिरहेको थियो । पोखरा बस्ने पाठक बिहान कोरियन भाषा पढ्थे, दिउँसो इन्ड्राइभ चालकका रुपमा काम गर्दै घरखर्च धानिरहेका थिए । उनी परिवारको आर्थिक अवस्था सुधार्न भरमग्दुर प्रयास गरिरहेका थिए । बाहिरबाट हेर्दा उनको जीवन सामान्य देखिए पनि भित्रबाट असामान्य थियो ।


देशमा व्यक्त भष्ट्राचार, बेथिति र स्वार्थी नेतृत्वप्रति उनी असन्तुष्ट थिए । मनमा देशमा परिवर्तन गर्ने सपना साँचेर अस्पष्ट भविष्य र दैनिकीको जोहो गर्दै दौडिरहेका थिए । भदौ २३ गते भएको भष्ट्राचार विरुद्धको जेनजी आन्दोलनबारे सुनेपछि मदनलाई घर बस्न मन लागेन, उनी पनि सडकमा उत्रिए ।

Advertisement


२४ गते पोखरामा युवाको भीड आगजनी तथा तोडफोड गर्दै हिडेको थियो । त्यसै क्रममा उनीहरु राति ८ बजे गैह्रापाटनको जिल्ला प्रहरी कार्यालय कास्की नजिक पुगे । प्रहरीले युवालाई अघि बढ्न दिएका थिएनन् । युवाहरु अघि बढ्न चाहन्थे । यसैबिच दुई समूहबिच झडप सुरु भयो ।


भीड तितरबितर बनाउन प्रहरीले अश्रुग्यास हान्न सुरु ग¥यो । गोलीसमेत वर्षियो । लाग्थ्यो त्यो क्षेत्र कुनै युद्धको रणभूमि जहो । प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरे पनि त्यसको बेवास्ता गर्दै भीड अघि बढिरह्यो, तितरबितर भएन ।

Advertisement


‘एक जना साथीलाई प्रहरीको गोली लाग्यो । म बच्न आठ फिट अग्लो पर्खालबाट हाम फालें । हाम फाल्दा पनि पछाडिबाट गोली आइरहेको छ कि जस्तो लागेको थियो । खुट्टा घुँडाबाटै भाँच्चियो कि जस्तो लाग्यो । भुँइमा लडेर अर्धबेहोस भएछु,’ उनले भने, ‘साथीहरुले देखेपछि बोकेर फिस्टेल अस्पताल लगे, अस्पतालमा उपचार गर्न सक्ने वातावरण थिएन । ब्यान्डेज र महलम लगाएर घर फर्किए ।’


भोलिपल्ट मणिपाल अस्पतालमा आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार गरिन्छ भन्ने सुनेर साथीसँग उनी त्यहाँ पुगे । एक्सरे गर्दा दुवै पैतालाको क्याल्केनियम (पाइतालाको पछाडिपट्टि हुने सबैभन्दा ठूलो हड्डी) भाँच्चिएको जानकारी मिल्यो । उनका खुट्टाको सोमबार अप्रेसन गरिएको छ । तीन महिला बेड रेस्ट गर्न डाक्टरले सल्लाह दिएका छन् ।


‘मलाइ केही भएमा मेरो परिवारलाई के होला ? कस्तो समस्या पर्ला भनेर चिन्ता त थियो तर देशको चिन्ता ठूलो थियो । मैले भोगेको समस्या मेरो छोराछोरीले भोग्न नपरोस् भनेर, भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नै पर्छ । अहिले नलडे कहिले लड्ने भनेर आन्दोलनमा सहभागी भएँ,’ पाठकले आत्मबल बलियो पार्दै भने ।


सानैदेखि अन्याय सहन नसक्ने, निडर र अन्याय विरुद्ध आवाज उठाउने स्वभाव थियो उनको । कसैको आलोचना गर्नुपरे लुकिछिपी होइन, सिधै गर्थे । जोसँग पनि स्ट्रेट फर्वाड भएर कुराकानी गर्छन् । देशको व्यवस्था परिवर्तन गर्न युवाले सशक्त आन्दोलन गर्नुपर्ने उनको धारणा छ । राजनीतिक दलले पहिलो र दोस्रो पुस्तालाई विश्राम दिएर तेस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पाठकको मत छ ।


‘अब नेतृत्वमा सही व्यक्तिलाई ल्याउनुपर्छ । राजनीतिक दलले न्यायोचित ढंगले उम्मेदवार नउठाउँदै भष्ट्राचार मौलाएको हो । उम्मेदवारका लागि उमेर सीमा तोकिनुपर्छ,’ उनी भन्छन्, ‘राजनीतिक नेतृत्वले अब जनताको आवाज सुन्ने, संविधानलाई बलियो बनाउने, उम्मेदवार छनोटमा निष्पक्षता कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने दिशामा ठोस कदम चाल्नैपर्छ ।’


५ वर्ष संयुक्त अरब इमिरेट्स (युएइ) मा काम गरेर फर्केका मदनले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने माग राखे । उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलतालाई प्रोत्साहन, सीपमूलक तालिम र रोजगारी सिर्जनामा ठोस नीति आवश्यक पर्ने उनको ठम्याइ छ । जनशक्ति देशमै परिचालन गर्न सकेमा देशको विकास हुने उनले बताए ।


परिश्रम, पसिना र उमेर अरु देशलाई दिनुपर्ने दर्दनाक अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । उनका बुवाआमा गाउँमा छन् भने श्रीमती र २ वर्षकी छोरीसहित उनी पोखरा बस्छन् । अहिले शरीर त कमजोर भएको छ, तर मानसिक रुपमा उनी अझै पनि अडिग छन् । पीडाले शरीरलाई थिचे पनि आत्मबल र हिम्मतलाई जित्न सकेको छैन ।


उनी भन्छन्, ‘म ठीक हुनेछु, फेरि उठ्छु, फेरि दौडन्छु, फेरि संघर्ष गर्छु । जिन्दगीमा एक÷दुई पटक लड्नुपर्छ, जो लडेर उठ्ने साहस गर्छ ऊ कहिल्यै पराजित हुँदैन ।’ यही आत्मबल नै उनको सबैभन्दा ठूलो औषधी बनेको छ । मणिपाल अस्पतालमा उपचाररत पाठकले सहयोगका लागि अनुरोध गरेका छन् । ९७६९७८२८६५ नम्बरमा सम्पर्क गरी उनलाई सहयोग गर्न सकिन्छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया