
पोखरा ।
पोखरा ८ मा सिर्जनाचोकमा रहेको सिर्जना मिनी मार्केट जगन्नाथ शर्माका लागि जीवनको आधार थियो । किनकि उनको व्यवसाय त्यहाँ थियो । २०७२ देखि उनले त्यहाँ फलफूल पसल चलाउँदै आएका थिए । बिहान सबेरै पसल पुग्ने उनी दिनभरीको कमाइले घरखर्च चलाउँथे । तर भदौ २४ गते भएको आगलागीले उनको वर्षौँका श्रम र सपना खरानी बनाइदियो । जीवन चलाउने बाटो बन्द गरिदियो ।
१६ वर्षअघि संघर्षको बाटो समात्दै उनी स्याङ्जाबाट पोखरा आएका थिए । गाउँमा जीवन सजिलो थिएन । पसिना बगाएर गुजारा चलाउन थालेका शर्माले यही बजारमा संसार बसाएका थिए । ३० हजार मासिक भाडा तिरेर पसल चलाउँदै आएका शर्मा फलफूलको अफ सिजनले व्यवसाय मन्दीमा भएका बेला थप विपत्तमा परेका छन् ।
‘जीवन त्यही व्यवसायमा निर्भर थियो । रातिमा आगो लागेकाले निभाउन सकिएन । आगो लागेको थाहा पाउने बेलासम्म पसल खरानी भइसकेको थियो । खरानी टक्टक्याएर फेरि उठ्नेछौं,’ उनले पीडा पोखे, ‘हाम्रो गरिखाने माध्यम खरानी बने पनि ग्राहकसँगको सम्बन्ध अटुट छ । एक दशकदेखि हामीलाई खोज्दै आउने ग्राहक छन् । त्यसैले पसल फेरि खोल्नैपर्छ । मध्यम वर्गीय परिवार मिलेर सञ्चालन गरिएको बजार हो । गरिबको आँसु लाग्छ ।’
उनलाई अझै विश्वास छ, आगो आकस्मिक लागेको होइन । निराशाभन्दा बढी उनीभित्र फेरि उठ्ने आँट छ । शर्माको पसल खरानी भए, पनि आशा भने बाँकी छ । आगलागीबाट १२ लाखभन्दा बढी क्षति भएको उनले सुनाए ।
दैनिकी चलाउने जिम्मेवारी र २ छोरीको भविष्यको चिन्ताले उनलाई सताएको छ । उनको परिवारमा श्रीमती र छोरीसहित ४ जना छन् । ठूली छोरी ८ कक्षामा र सानी छोरी ६ मा पढ्छन् । जीविका धान्ने माध्यम नै खरानी बनेपछि छोरीहरुको पनि मलोबल घटेको जगन्नाथ सुनाउँछन् भनाइ छ । पसलको बिमा गरिएको भए पनि आगलागीबाट भएको क्षति कभर हुन्छ कि हुँदैन भन्ने निश्चित छैन ।
‘चोरी भएमा र सामानको मात्र बिमा गरिएकाले बिमाले सहयोग गर्छ/गर्दैन थाह छैन । आन्दोलनको नाम पारेर रिसइबी भएको मानिसले आगो लगाइदिएको हो । आगो लगाइएको हो भनेर घटनाको प्रकृति हेर्दै प्रस्ट हुन्छ,’ उनले शंका प्रकट गरे, ‘सोच्दै नसोचेको विपत्ति आइलाग्यो । आगो लाग्दा ठूलो क्षति व्यहोर्नुपर्यो ।’

स्याङ्जाका ४६ वर्षीय ढाकाराम सापकोटालाई पनि अहिले दिनरात एउटै चिन्ताले सताइरहेको छः अब परिवार कसरी पाल्ने ? वर्षाैं मेहनत गरी उभ्याएको उनको सिर्जना सापकोटा तरकारी तथा फलफूल पसल भदौ २४ को आगलागीमा खरानी भयो । पसलसँगै उनको भरोसा, आशा र भविष्यका कागजहरु समेत खरानी भए ।
१५६ स्टल रहेको मार्केट जल्दा ३ करोडभन्दा बढी नोक्सानी भएको अनुमान छ । निम्नवर्गीय व्यवसायीको रोजीरोजी गुमेको छ ।
६ वर्ष अरबको तातो मरुभूमिमा पसिना बगाएपछि उनी स्वदेश फर्किएका थिए । विदेशमा कमाएको अनुभव र थोरै पुँजीलाई आधार बनाएर उनले पोखरामा तरकारी पसल खोलेका थिए । ‘१० लाखभन्दा बढी क्षति भएको छ, आगोले पसल जल्यो तर त्यसभन्दा बढी मन जलेको छ । स्वदेशमै सजाएको सपनालाई आगोको लप्काले सक्यो । विदेशमा काम गर्न गाह्रो भयो, आफ्नै देशमै केही गर्छु भनेर फर्किएको थिएँ,’ उनी सम्झन्छन् ।
ढाकारामका २ छोरा छन् । उनी चाहन्नन्, छोराहरुले आफूले जस्तो परदेशको कठिन जीवन व्यहोर्नु परोस् । तर देशको अवस्था देख्दा रोक्न सक्ने आत्मविश्वास पनि छैन । ‘छोराहरू विदेश जान नपरोस् भन्ने चाहना छ, तर यहाँ भविष्य अन्धकार छ,’ उनले भने । ढाकारामको पसल आज छैन, तर उनको संघर्षको कथा भने अझै बाँकी छ । जीवन धान्ने आधार खरानी बने पनि, उनले उठ्ने आँट भने अझै गुमाएका छैनन् ।
चाडपर्वको मुखैमा विपत्ति आइलाग्दा अर्काे पीडा थपिएको छ । दसैं, तिहार कसरी मनाउने ? व्यापार नै घर खर्च चलाउने आधार भएकाले आम्दानी गुम्दा परिवारको खर्च, घरभाडा, छोराछोरीको पढाइ÷लेखाइ कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परेको छ ।

अधिकारी खाजा घर पनि जलेर खरानीमा परिणत भयो । दिनको १८ घन्टा काम गरेर ठड्याएका थिए पोखरा मालेपाटनका सञ्चालक तारा अधिकारीले यो पसल । ‘पसल घर जस्तै भएको थियो । सुत्नका लागि मात्र घरमा जान्थें, नत्र खाने, बस्ने पसलमै हुन्थ्यो । जलेका चम्चा, पिलेट जम्मा गरिरहेको छु । लत्ता, कपडा, २ वटा फ्रिज जले । ठूलो दशा लाग्यो,’ अधिकारीले भावुक हुँदै भने ।
बिहान ४ बजेदेखि रातिको ९ बजेसम्म काममा खटिन्थे उनी । १० लाखभन्दा बढी नोक्सान भएको उनको भनाइ छ । उनी मासिक १० हजार भाडा तिर्थे । बिमा भुक्तानी प्रक्रिया झन्झटिलो हुन्छ भन्ने सुनेर बिमा गरेका थिएनन् उनले । तर अब गर्नुपर्छ भन्ने महसुस गरेका छन् ।
यही सानो पसलबाट खान, लाउन पुगेको थियो । साधारण तरिकाले जीवन चलिरहेको थियो । श्रम गर्नुपर्छ, देशमै गर्नुपर्छ भनेर खाजा पसल खोलेको अधिकारी सुनाउँछन् । नजलेको भागमा छेकबार गरी उनले चिया बेच्न थालिसकेका छन् । त्योबाहेक आम्दानीको अर्काे विकल्प नभएकाले त्यसरी बेच्नुपर्ने बाध्यता छ उनलाई ।
आगलागीबाट ३ करोडभन्दा बढी नोक्सानी भएको बजारका सञ्चालक विष्णुबहादुर जिसीले जानकारी दिए । एक जना व्यापारीको ५० लाखसम्म क्षति भएको छ । वक्र्सर्सपमा रहेका ८ वटा मोटरसमाइल जलेका छन् । बजारमा १ सय ५६ वटा स्टल थिए । तरकारी, फलफूल, किराना, कपडा, मासु र वक्सर्सप लगायतका पसल थिए ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरेपछि ती सबै खण्डहर बनेका छन् । ३ वर्षअघि डेढ करोड लगानीमा पोखरा २३ का जिसीले बजार सञ्चालन गरेका थिए । मासिक साढे ३ लाखभन्दा बढी भाँडा तिरिरहेको बजार घाटामा चलिरहेको उनको भनाइ छ । साथीहरु मिलेर सञ्चालन गरेका तर साथीहरुले छोडेपछि एक्लै व्यवस्थापन गर्नुपरेको जिसी सुनाउँछन् ।
दसैं अघि पुननिर्माण सक्नेगरी काम भइरहेको उनले बताए । दसैंमा व्यापार गर्न मिल्ने गरी कामअघि बढेको छ । जिसीले भने, ‘बजार घाटामा चलिरहेको थियो, अब छोड्यो भने त झन् घाटामा जान्छ । त्यसैले फेरि उठ्नै पर्छ । निम्न आय भएका मानिसको व्यापार गर्ने थलो हो, त्यसैले, उनीहरुको लागि भए पनि पुन सञ्चालन गर्ने छु । उपभोक्तालाई पनि किनमेलका लागि सहज थियो । दैनिक आवश्यक तरकारी, फलफुल, मासु, कपडा र किरानादेखि लिएर सामान्य प्रयोजनका सामान एकै ठाउँमा उपलब्ध हुन्थे ।’


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया