पोखरामा नेपाल प्रहरी नमूना पेट्रोल पम्प सञ्चालन

पोखरा । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले कास्कीको पोखरामा निर्माण गरेको नमूना पेट्रोल पम्प मंगलबारदेखि नियमित सञ्चालनमा आएको छ । प्रहरी प्रधान कार्यालय, कल्याण कोष नक्सालबाट सञ्चालित पम्प पोखरा–७ पार्दीस्थित प्रहरी कार्यालयको परिसरमा बनेको हो ।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार पेट्रोल र डिजेलको नियमित बिक्री–वितरण असोज ७ गतेदेखि सुरु गरिएको छ ।
नेपाल प्रहरीले करिब ९ करोड ९६ लाख ६५ हजार ७२९ रुपैयाँ लागतमा पेट्रोल पम्प निर्माण गरेको हो । ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले ठेक्का पाएको पम्प निर्माण कार्य सम्पन्न भएपछि प्रहरी कल्याण महाशाखाले सञ्चालनमा ल्याएको हो ।
यसअघि पम्प निर्माण रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरूले उच्च अदालत पोखरामा रिट दर्ता गरेका थिए । रिटमा नेपाल राष्ट्र बैंक पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका संवेदनशील सरकारी कार्यालय रहेको क्षेत्रमा पेट्रोलियम पदार्थको डिपो राख्दा सम्भावित जोखिम हुने दाबी गरिएको थियो ।
अदालतले अघिल्लो वर्षको असोज १० गतेसम्मका लागि पेट्रोल पम्प निर्माण नगर्न अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । तर गत पुसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।
रिट दर्ता गर्नेहरूमा नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेल, गोकुल कार्की, दुर्गाकुमारी काकी, शोभाकुमारी श्रेष्ठ र रामचन्द्र विश्वकर्मा थिए । उनीहरूले २०३१ सालमा सरकारी कार्यालय निर्माण गर्ने उद्देश्यले अधिग्रहण गरिएको जमिनमा पेट्रोल पम्प बनाउन नमिल्ने तर्कसहित अदालतमा मुद्दा दायर गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया